आर्थिक सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको आग्रह

Logo २० भाद्र २०७९, सोमबार ०९:२८ | Aadil Times                  

बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । तिनीहरुको पुनस्थापनाका लागि १६ करोड अमेरिकी डलर बराबरको सहयोग आवश्यक परेको पाकिस्ताननले जनाएको छ ।

संयुक्त राष्ट्र संघले पनि यसअघि नै पाकिस्तानलाई मानवीय सहयोग गर्न अपील गरिसकेको छ । बाढीबाट बलुचिस्तान, सिन्ध, गिलगिट र पञ्जाव प्रान्त सबै भन्दा बढी प्रभावित भएका छन् । खैबर पख्तुन्ख्वा बाढीका कारण तहसनहस भएको छ । बाढीमा परी १२ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको अनुमान पाकिस्तानी अधिकारीहरुले गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल राहत पुर्याउने क्रम पनि जारी राखेको छ । पछिल्ला ४ दिनमा टर्की, फ्रान्स, चीन, युएइ, कतारलगायतका देशबाट ३० वटा विमानले राहत सामाग्री पुर्याएका छन् ।

अमेरिकाले भने एउटा सैन्य टोली नै पठाउने तयारी गरिरहेको छ ।


सम्बन्धित खबर