
पूर्णिमा खाती, नवलपुर/
विद्यालयमा चौथो मासिक परिक्षा चलिरहेको थियो। सबै विद्यार्थी सहभागी थिए तर कक्षा तीनको छात्र विवश न्यौपाने थिएन। उसको सहाभागिताबिना नै परिक्षा सकियो। त्यसको चार दिनपछी विवश विद्यालय आयो। छुटेका विद्यार्थीको परिक्षा लिनै पर्ने भएकोले मैले उसलाई स्टाफ रूममा बोलाएर परिक्षा दिन भने। तेस्रो घन्टी खाली भएकोले म पनि त्यहीँ बसे। अर्को एकजना सरिता मिस पनि हुनुहुन्थ्यो। हाम्रो खासै गफ नहुने भएकोले मैले विवशलाई नै सोधेँ “तिमी यति धेरै दिन कहाँ गएको थियौ?”
बालमस्तिष्क न पर्यो उसले सहजै भन्यो “मामा बितेर मामाघर बुटवल गएको थिए मिस।”
हरेक मृत्युको कुराले मलाई निरुत्साहित बनाउछ त्यसैले म चुप बसे। सरिता मिसले सोध्नुभयो “बूढो हुनुहुन्थ्यो मामा? “होइन भर्खरको हुनुहुन्थ्यो” इरेजरले केही मेटाउदै विवशले उत्तर दियो। सरिता मिसमा कौतूहलता धेरै छ। फेरि सोधिहाल्नुभयो “अनि के भएर बित्नुभयो त?” मेटाएको डोबलाई सच्याउदै विवशले भन्यो “मामाले कामीको छोरी बिहे गर्नुभएको रे, अनि मामा माइजु एक्लै बस्नुहुन्थ्यो हजुरबा बोल्नुहुन्नथ्यो अनि अहिले झुन्डेर मर्नुभएछ।”
मेरो त सास फोक्सोमै रोकियो। यो सब बिस्तार वताइरहदा उसलाई यो पनि थाहा छैन कि बिहे के हो? जात के हो? तर कामीको छोरी बिहे गर्नाले मामा झुन्डिएको हो भन्ने कुरा बुझिसक्यो। समाजले उसको कोमल मस्तिष्कमा जातीय विभेदको बीउ छरिसकेको छ।अब यो बीउ उम्रीएर हुर्किदै, फुल्दै, फल्दै अर्को कोमल मस्तिष्कमा छरिनेछ।
जाजरकोटका नवराज र बुटवलका विवशको मामा त केवल प्रतिनिधि पात्र मात्र हुन्। जाजरकोट सोती घटनाले एक वर्षअघि सामाजिक संजाल हदैसम्म ततायो तर चिसिएको समाज र कठ्याङ्ग्रीएको सरकार तातिन सकेन। नेपालमा जातीय विभेदसम्बन्धि कानुन कडा रुपमा कार्यान्वयन हुन अझै कति रोमियो जुलियटले आफ्नो ज्यान दिनुपर्ने? जातियताको आगोमा जल्न बाध्य बनाउने समाजलाई के सजाय छ रु कुनै पनि जात छैन र थरले मान्छे सानोठुलो हुदैनन् भनेर विवश जस्ता अबोधले कसरी सिक्ने यो समाजमा? जति नै प्रयास गरे पनि परिवर्तन हुन नसक्ने यो समाजमा विभेदको जरो बलियो बनिसकेछ। सायद अर्को रुख उम्रेला तर जरो उखेलिन मुस्किल छ।