किताबमा देखिएको कन्जुस्याइँ !

Logo १८ जेष्ठ २०७८, मंगलवार १५:२६ | Aadil Times                  

विश्व चर्चित ब्राजिली लेखक पाउलो कोएल्होलाई पहिलो पुस्तक लेख्न ४० वर्ष लागेको थियो । हुन पनि पहिलो पुस्तकको मायामोह र मिहिनेत बढी हुने गर्छ । पिटर लार्सनका अनुसार जोकसैको पहिलो माया सबैभन्दा मनपर्ने हुन्छ । यो सधैँका लागि विशेष हुन्छ । हुन त हरेक पहिलो विशेष हुनसक्छ, जुनसुकै क्षेत्रमा । स्मरणीय पनि । अनि, पहिलो माया पनि त्यत्तिकै । सायद, त्यसैले होला यात्रामा रुचि राख्ने नियात्राकार प्रदीप सापकोटाको पहिलो नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ पनि खास छ ।

विश्व कोरोनाभाइरसको महामारीले थलिएको बेलामा उनले भौतिक शरीरलाई एकार्काबाट टाढा राख्नुपर्ने समयलाई एकान्तवासमा बसेर आफ्नो विगतको यात्रालाई ताजगीमा बदल्दै राम्रोसँग सदुपयोग गरेको अनुभूत गर्न सकिन्छ । उनी स्वदेशसँगै विदेशमा भारत, सिंगापुर, मलेसिया र थाइल्यान्ड घुमे । यात्राको समय छोटो रहे पनि उनले धेरै कुरा बटुले ।

कुनै ठाउँ घुम्न गए र कुनै ठाउँ कार्यक्रमका सिलसिलामा पुगे । उनले आफ्नो धर्म निभाए । उनको धर्म थियो, ‘टिपनटापन’ । पेसाले पर्यटन क्षेत्र र कानुन व्यवसायी रहे पनि उनको यो पुस्तक पढिसकेपछि भने उनी सबैभन्दा बढी साहित्यमा रमाएजस्ता लाग्छन् ।

किनकि, उनले आफ्नो व्यावसायिक दैनिकीलाई पुस्तकमा कमै मात्र प्रकाश पारेका छन् । उनी शुद्ध यात्रु हुन् र यात्राका क्रममा देखे–भोगेका कुरा टिपेका छन् । उनले संकलन गरेका सूचनामा मिहिनेत पनि गरेका छन् ।

सामान्यतया घुमन्तेले घुमघाम र खानपिनमा रुचि राख्छ । सापकोटाले सूचना टिपोटमा पनि उत्तिकै रुचि राखेकै कारण पुस्तक लेख्न सफल भएजस्तो लाग्छ । लाग्छ, उनी जहाँ जान्छन्, जाग्राम बस्छन् सूचना संकलन गरेर ।

उनले यो पुस्तक लेख्न कति समय लगाए त्यो उल्लेख गरेका छैनन् । तर, मिहिनेत भने गरेका छन् । उनमा थोरै कुरालाई पनि ठूलो बनाएर मिठासपूर्ण तरिकाले प्रस्तुत गर्ने खुबी रहेको उनका केही शीर्षकमा पाउन सकिन्छ ।

कतिपय नियात्रामा उनले भारत जाने बेलादेखि फर्किने बेलासम्मको दुःख बिसाएका छन् । नेपाली कसरी ठगिन्छन् भन्ने सचित्र पेस गरेका छन् । एकातिर विकसित हुन नसकेको स्तर र अर्कातिर दीर्घकालीन सोचका साथ बनाइएका ठूला–ठूला भवन र त्यसको स्तरको खुलेर प्रशंसासहित लेखेका छन्, विज्ञले जसरी ।

मलेसिया, सिंगापुर र थाइल्यान्ड घुमाइमा भने उनी फरक अनुभूति गर्छन् । कतिपय अवस्थामा एक नेपालीको कल्पनाबाहिरको विकास देखेर नतमस्तक हुन्छन् भने नेपालसँग तुलना गरेर कुनै पनि क्षेत्रमा यसरी विकास हुन नसकेकामा पाठकलाई खिन्न पनि बनाउँछन् ।

नेपालमा घुम्दाको अनुभव उनी फरक शैलीमा दिन्छन् । जहाँ गइन्छ त्यहाँको रहनसहन र संस्कृति जान्नु जरूरी छ । नियम–कानुन पनि जान्नु जरूरी छ । तर, कानुनका अभ्यासकर्ता उनले मलेसियामा सर्ट उतार्दा सहनुपरेको केरकारको सानो घटनाले पनि देश र परिस्थितिअनुसार कानुन पनि फरक हुने स्पष्ट पार्न सफल भएका छन् ।

यसले एउटा चेतनाको ढोका खोलिदिन्छ । किनकि, जहाँ गइन्छ त्यहाँको बारेमा मोटामोटी कानुन जानिएन भने फन्दामा परिन्छ । त्यतातर्फ उनले सचेत गर्न खोजेका छन् । पाँच देशको घुमाइ प्रसंगलाई नियात्राकार सापकोटाले १४ वटा शीर्षक राखेर ‘यात्राका इन्द्रेणी रङ’मा रङ भरेका छन् ।

पुस्तक पढ्दा पृष्ठ वा कुनै अनुच्छेदलाई छाडेर छिटोछिटो पुस्तक सक्नु पर्दैन । सरर्र पढ्न सकिन्छ । सापकोटाले बुनेको गाथा सहजै अगाडि बढ्छ । कतिपय लेखनमा लोभलाग्दा साहित्यिक वाक्यहरूको प्रयोग गर्न पनि खप्पिस देखिएका छन् उनी । यसरी प्रशंसाले बुट्टा भरे पनि नियात्रासंग्रहमा कुनै–कुनै ठाउँमा जबर्जस्ती कलात्मकता देखाउन खोजेकोजस्तो पनि पाइन्छ । जसले तत्काललाई राम्रो देखाइएको भए पनि दीर्घकालीन रूपमा त्यसले स्थायित्व नपाउन पनि सक्छ ।

अर्कोतिर, नियात्राकारले यात्राको समय दिन कन्जुस्याइँ गरेका छन् । जसले गर्दा विश्वमा देखिएको परिवर्तन सँगसँगै हिँड्न पाइँदैन । कुन समयमा जाँदा भएको वस्तुस्थिति हो, त्यसैअनुसार पढेर आफूलाई सच्याउन सक्ने वातावरण बनाउनु लेखकको धर्म हो । त्यतातिर नियात्राकार चुके वा सधैँका लागि पुस्तक ताजगी राख्नका लागि यो यत्न पो गरिएको हो ! त्यस्तो पनि लाग्छ ।

जस्तो कि २०७१ सालमा धरहरा देखेको व्यक्तिले ०७३ सालमा त्यस्तो देख्दैन । ०७८ सालमा अर्कै देख्छ । यी तीन समयमा धरहरा वरिपरि पुग्नेले छुट्टाछुट्टै प्रसंग जोडेर व्याख्या गर्न सक्छन् । हिजो सुतेको धरहरा आज ठडिइसकेको हुन्छ । तसर्थ, नियात्राकारले यस्तो प्रसंग लेख्दा समय दिन सकेको भए पाठकले न्याय पाउँथे ।

अर्कातिर, नियात्राकार जहाँ–जहाँ पुगे, त्यसका बारेमा कैयौँ नियात्राकारहरूले यसअघि नै वर्णन गरिसकेका छन् । बस्, फरक छ त परिवेश । जुन परिवेशमा नियात्राकारले यात्रा गरे र तत् समयमा घटना भयो, त्यो अरूलाई नहुन सक्छ । जसले गर्दा पुस्तकले पाठकलाई तान्न सक्छ ।

पुस्तकमा मसलाका रूपमा यौनको विषयलाई नियात्राकारले केही ठाउँमा प्रस्तुत गरेका छन् । कहिले नेपाली चेलीहरूलाई विदेशीले हेर्ने नजरका विषयमा कलम चलाएका छन् त कहिले मसाज सेन्टरमा गएर आफैँ त्यसको खुराक बनिरहेका छन् । त्यति मात्र होइन, फेसकुकमा बनेको साथीको भर हुन्न है भनेर सचेत गराउने क्रममा हे भाइऽऽऽ¬ हे भाइऽऽऽ भनी बोलाउँदा बोलाउँदै ‘गे (समलिंगी) भाइ’को संगतमा झन्डै फसेको प्रसंग पनि जोडेका छन् ।

नियात्राकार सापकोटाले आफ्नो पहिलो पुस्तकमा गरेको मिहिनेतमा पनि छुटेका केही चम्काउन प्रयोग गरिने ‘चुना’ आगामी संस्करणमा थप मिहिनेतले चम्काउने हो भने पुस्तक थप आकर्षक र पठनीय हुनेमा दुईमत छैन । उनलाई आगामी दिनमा नियात्राको पुस्तक प्रकाशन गर्न र पाठकलाई आकर्षण गर्न पनि कुनै समस्या नपर्ने देखिन्छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news