कोरोनालाई मोदी सरकारको ‘जैविक हतियार’ भनेपछि राजद्रोहको मुद्दा

Logo २८ जेष्ठ २०७८, शुक्रबार १३:२८ | Aadil Times                  

भारतको केन्द्रशासित प्रदेश लक्षद्वीपकी फिल्म निर्माता आइशा सुल्तानामाथि राजद्रोह गरेको र घृणा फैलाएको आरोपमा एफआईआर दर्ता गरिएको छ ।

लक्षद्वीपका भारतीय जनता पार्टी (भाजपा) प्रमुखले उजुरी गरेपछि सुल्तानाविरुद्ध राजद्रोह गरेको र घृणा फैलाएको आरोपमा एफआईआर दर्ता गरिएको हो ।

केही दिनअघि सुल्तानाले कोरोना भाइरसको व्यवस्थापन गर्न नसकेको भन्दै लक्षद्वीपका प्रशासक प्रफुल खोडा पटेलको आलोचना गरेकी थिइन् । यही हप्ताको सुरुमा उनले एक टेलभिजन बहसका क्रममा पटेलको आलोचना गर्दै केन्द्रले लक्षद्वीपमा जैविक हतियार परिचालन गरेको टिप्पणी गरेकी थिइन् ।

‘लक्षद्वीपमा कोभिड-१९ बाट एकजना पनि संक्रमित भएका थिएनन् । तर अहिले हरेक दिन १०० जनामा संक्रमण पुष्टि भइरहेको छ’, बसहका क्रममा सुल्तानाले भनेकी थिइन्, ‘केन्द्रले परिचालन गरेको कुरा जैविक हतियार हो । म प्रस्टसँग भन्न चाहन्छु- केन्द्र सरकारले जैविक हतियार परिचालन/प्रयोग गरेको छ ।’

सुल्तानाको उक्त अभिव्यक्ति लगत्तै भाजपाका कार्यकर्ताले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । त्यसपछि लक्षद्वीपका भाजपा प्रमुख अब्दुल खदेर हाजीले अराष्ट्रिय टिप्पणी गरेको र केन्द्र सरकारको देशभक्तिपूर्ण छबि बिगार्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

लक्षद्वीपको प्रशासनले गरेका विवादास्पद निर्णयको आलोचना गर्दै आएकी सुल्तानाले एफआईआर दर्ता भएपछि समेत आफ्नो अभिव्यक्तिको बचाउ गरेकी छन् ।

‘उनीहरुले मविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरेका छन् तर सत्यको जीत हुने छ भनेर पुन: दोहोर्‍याउन चाहन्छु’, सुल्तानाले फेसबुकमा लेखेकी छन्, ‘लक्षद्वीपका भाजपा कार्यकर्ताले उक्त मुद्दा दर्ता गरेका हुन् । म आफू जन्मेको भूमिको पक्षमा निरन्तर लडिरहने छु । हामी कोहीसँग पनि डराउँदैनौं । अबदेखि मेरो आवाज थप बुलन्द हुने छ ।’

भाजपाका नेता समेत रहेका पटेललाई डिसेम्बरमा लक्षद्वीपको प्रशासकमा नियुक्त गरिएको थियो । तर लक्षद्वीपलाई माल्दिभ्स जस्तै प्रमुख पर्यटकीय स्थल बनाउने दाबी गर्दै उनले गरेका कैयौं निर्णयविरुद्ध विरोध प्रदर्शन हुँदै आएका छन् ।

पटेलले एक वर्षसम्म थुनामा राख्न सकिने, प्रशासनले आफूखुशी भूमि हडप्न सक्ने र गौबधमाथि प्रतिबन्ध लगाउने गरी ल्याउन लागेका कानुनको समेत विरोध भइरहेको छ । यी नियमले लक्षद्वीपमा बाहुल्य रहेका मुस्लिम समुदायले आफ्नो जीवनशैलीमाथि हमला भएको महसुस गर्न थालेका छन् ।

सोमबार समेत द्वीपका बासिन्दाले घर, तट र पानीमुनिबाट प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए । कैयौं सांसद, कर्मचारी र प्रभावशाली व्यक्तिले नयाँ नियमको विपक्षमा उभिएका छन् । त्यस्तै केरलाको विधानसभाले पटेललाई फिर्ता बोलाउनु पर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news