कोरोनाले ल्याएको चुनौती र अवसर

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:२७ | Aadil Times                  


सन् २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलोपटक देखापरेको कोरोना भाइरसले विश्वभरि नै महामारिको रुप धारण गरी मानवजातिलाई त्राहीत्राही पारिरहेको छ। खुल्ला आकाशमुनि स्वतन्त्र जीवनयापन गरिरहेका अर्बौं मानिसलाइ आफ्नो दैनिक जीविकोपार्जनका कामकाज समेत ठप्प पारी घरभित्र थुनिएर बस्न  बाध्य बनाएको छ।

मानव जातिमा ठूलो संकट आइपरेको छ। कोभिड-१९ ले विश्वभरि नै तीन करोडबढी मानिस संक्रमित भइसकेका छन् ९ लाख ५७ हजार ६७० मानिसको मृत्यु भइसकेको छ। यो दर बढिरहेको छ।

पछिल्लो समय नेपालमा पनि सङक्रमित हुनेको संख्या दैनिक बढिरहेको छ भने मृत्युका केसहरू पनि दैनिक रुपमा आइरहेका छन्। कोरोना फैलावटबाट रोक्नका निम्ति चीन, भारत साथै युरोपियन मुलुकहरूले जस्तै नेपालले पनि चैत ११ गतेबाट लामो समय देशव्यापी रुपमा लकडाउन घोषणा गरी अन्तर्राष्ट्रिय उडान र आवागमनमा रोक लगायो।

देशमा आर्थिक, शैक्षिक गतिविधि समस्याग्रस्त छ। उद्योगधन्दाहरू, सानादेखि ठूला व्यवसाय, हाट, बजार, होटल, रेस्टुराँहरू बन्द हुँदा दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरूमा धेरै ठूलो समस्या आइपरेको छ।

वुहान प्रान्तमा देखिनुअघि कोरोनाको बारेमा कसैलाई पनि थाहा थिएन। परीक्षण, उपचार र व्यवस्थापनमा सुरुका दिनमा निकै जोखिम परे तापनि सरकारी साथै निजी क्षेत्रबाट सञ्चालित कोभिड-१९ परीक्षण केन्द्रहरुबाट देशभित्रै हाल दैनिक १० हजारबढी नमूना परीक्षण गर्न थालिएको छ।

कोरोनाको अर्को पक्ष

यस्ता महामारी अर्थात् प्राकृतिक विपदले विनाशमात्रै निम्त्याउँदैनन्, हालसम्म चल्दै आएका मानवीय क्रियाकलापलाई गहिरो रुपमा चिन्तन गर्दै त्यसलाई व्यापक रुपमा परिमार्जन गर्ने स्वर्णिम अवसर पनि हुन सक्छन्।

लामो समयको बन्दाबन्दीले हाम्रा नियमित कामकाजलाई प्रभावित पारिदिएको छ। शिक्षा, स्वास्थ्यलगायत आर्थिक विकाशका पक्षहरू प्रत्यक्ष मारमा परेका छन्। सामूहिक कार्यक्रमहरू स्थगित गरिएका छन्। आफ्ना अत्यावश्यक कामकाजहरू साथै पठन-पाठनका कामहरूसमेत एकअर्काबाट टाढै रहेर घरमै सीमित भएका छन्। साथै यस्तै विकल्पको खोजी पनि हुन थालेको छ।

यस्ता महामारी र विपदका बेला सर्वप्रथम मानिसले आफ्नो जीवन जोगाउने विषय प्राथमिकतामा पर्दछ। जीवन जोगिएपछि जीविका चलाउनका निम्ति पुनः आफ्ना कामकाजलाई नियमित सञ्चालन गर्नुपर्ने हुन्छ। पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण दर निकै तीव्र गतिमा बढिरहेको छ। सबै हिसाबले सशक्त शक्तिशाली राष्ट्रहरुलाई त घुँडा टेकाइसकेको कोरोना भाइरसलाई हामीले सामान्य ठान्नु हुँदैन। बेलैमा आवश्यक सुरक्षा सावधानी अपनाएर नागरिक आफैं सचेत नभए भोलि यसले निम्त्याउने संकट व्यवस्थापनमा लाग्न निकै चुनौती आइपर्ने देखिन्छ।

हरेक समस्याका दुई वटा पाटा हुन्छन् चुनौती र अवसर। नेपालमा पनि कोरोनाले थङ्थिलो पारेको अर्थतन्त्रलाई माथि उकास्नका निम्ति निकै ठूलो चुनौती आइपर्ने छ। साथसाथै यसका लागि हामीले प्रविधि विकासमा जोड दिई देशभित्रै रोजगारी सिर्जना गरी आफ्नै गाउँ-ठाउँमा बसेर नयाँ प्रविधिको प्रयोग गर्दै जीविकोपार्जन गर्ने सुनौलो अवसर समेत प्राप्त गर्न सक्दछौँ। जसका लागि केन्द्रस्तरदेखि स्थानीय स्तरसम्म आवश्यक समन्वय र सहकार्य गर्दै आफ्नो भूगोल हावापानी र वातावरण सुहाउँदो आर्थिक क्रियाकलापका कार्यक्रम ल्याउनुपर्दछ। यो महामारीसँगै वैदेशिक रोजगारीमा गएका हजारौं युवा गाउँ फर्किएका छन्। उनीहरूको सिप र क्षमतालाई बुझेर आफ्नै गाउँ-ठाउँमा रोजगारीको अवसर र्सिजना गर्नुपर्दछ।

सामूहिक खेतीका लागि प्रोत्साहन गर्नुपर्दछ। युगौंदेखि कृषिप्रधान देश भनेर नारा त लगायौं तर हालसम्म कृषिमा आवद्ध कैयौं नेपालीले वर्षभरि आफूलाई पुग्ने अन्न उत्पादन र भण्डारण गर्न सकेका छैनन्। उत्पादित वस्तुको भण्डारण र बजारीकरण नहुँदा केही ठाँउ मा कुहिएर नष्ट भएर जान्छ भने अर्को ठाँउमा महंगो मूल्य तिरेर अन्य देशबाट आयतित वस्तु उपभोग गर्नुपर्ने अवस्था रहेको छ। जेनतेन खेती त लगाउँछौ तर त्यसका लागि आवश्यक बिउ हामीसँग हुँदैन। मल, औषधी, विषादीसम्म निर्भर रहनुपरेको छ। समयमा आपूर्ति नहुँदा उत्पादनमा ह्रास आउने समस्या छ। जसले गर्दा बिहान बेलुकाको छाकटार्न समेत अन्य देशसँग आश्रित हुनुपर्ने समस्या छ।

अबका दिनमा यस विषयमा गम्भीर भएर सोच्नु जरुरी छ। हामीले विकसित राष्ट्रहरूले अवलम्बन गरेका नीति पछयाउँदै कृषिमा आत्मनिर्भर हुनुपर्दछ। अत्याधुनिक प्रविधिको विकास गरी व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्दछ र उत्पादित वस्तुलाई खेर जान नदिन शितभण्डार निर्माण र प्रशोधन केन्द्र निर्माणमा जोड दिनुपर्दछ।

साना तथा मझौला उद्योग विकासमा जोड दिनुपर्छ। त्यस्ता उद्योग कम लगानी र स्थानीय स्रोतसाधनबाटै चल्न सकून्।

हाल विद्युतको सुविधा बढेसँगै लोडसेडिङको अन्त्य भएको छ। अबका दिनमा औद्योगिक पूर्वाधारहरू, यातायात, सञ्चार र बजार पहुँचको विकास हुनुपर्छ। औद्योगिक लगानीले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने छ। आफ्नै गाउँ-ठाउँमा रोजगारीको र्सिजना भई स्थानीय सिपको प्रयोग, स्रोत र साधनको उपयोग भई आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनको मार्ग प्रशस्त हुन्छ।

हाल कोभिड-१९ का कारण विद्यालय शिक्षामा समेत ठूलो क्षति पुगेको छ। सो क्षतिपूर्तिका लागि नेट-इन्टरनेटको माध्यमवाट वैकल्पिक शिक्षामा जोड दिइरहँदा भौगोलिक अवस्था र विकटतालाई देखाउँदै पन्छाउने गरिएको छ। सूचना प्रविधि विकासको निम्ति अपरिहार्य बन्दै गएको सन्दर्भमा यसबाट अलग रहेर उपलब्धि प्राप्त नहुने कुरा बुझ्न आवश्यक छ।

कोरोनाले हामीलाई चिन्ने र बुझ्ने समय पनि प्रदान गरेको छ। अबका दिनमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई आफ्नो जीवनशैली र खानपानमा समेत सुधार ल्याउनु आवश्यक देखिन्छ। यस महामारीबाट सिर्जित समस्याहरूबाट खडा भएका चुनौतीलाई अवसरको रुपमा बदल्न सके विद्ममान आर्थिक र सामाजिक संकटबाट उठ्न सकिन्छ।


सम्बन्धित खबर