दिल्लीका विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द

Logo १ मंसिर २०७८, बुधबार १५:४७ | Salauoldin Ansari                  

भारतको राजधानी नयाँ दिल्लीका विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द भएका छन् । वायु प्रदूषणले खराब हुँदै गम्भीर अवस्था पार गरेपछि त्यहाँको सरकारले अर्को सूचना जारी नभएसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो ।

दिल्ली सरकारले निजी र सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ। साथै अनावश्यक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ । यसअघि गएको शनिबार दिल्ली सरकारले विद्यालय एक हप्ताका लागि बन्द गर्न र निर्माण कार्यहरु चार दिनसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर मंगलबार साँझ त्यहाँको वायु गुणस्तर व्यवस्थापन आयोगले अर्को सुचना जारी नभएसम्म सबै शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।

दिल्ली वरिपरि रहेका पाँचवटा कोइला प्लान्ट तत्कालका लागि बन्द गर्नसमेत त्यहाँको वन तथा वातावरण मन्त्रालयले निर्देशन दिएको छ । त्यहाँका ५० प्रतिशत सरकारी कर्मचारीहरुलाई नोभेम्बर २१ सम्म घरबाटै काम गर्न निर्देशन दिएको बताइएको छ ।

गएको सोमबार भारतको सर्वोच्च अदालतले दिल्ली सरकारलाई वायु प्रदुषण लकडाउन घोषणा गर्न आह्वान गरेको थियो । करिब २ करोड जनसंख्या भएको नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमा पर्छ। हरेक वर्ष जाडो समयमा त्यहाँ वायु प्रदूषणले सीमा नाघ्ने गर्छ । वायु प्रदूषण न्युनिकरणमा भारत हालसम्म असफल हुँदै आएको छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news