नेपाली साहित्यको विस्मयादिबोधक पात्र ‘अनुराधा’

Logo १८ जेष्ठ २०७८, मंगलवार १५:२० | Aadil Times                  

प्रत्येक पटक पुस्तक पढ्न बस्दा पाठकको मानसपटलमा कुनै न कुनै अपेक्षा स्वस्फूर्त उत्पन्न हुन्छन्। कुनै अपेक्षा भावनात्मक संवेदनासँग जोडिएका हुन्छन् भने कुनै दार्शनिक चिन्तनसँग सम्बद्ध हुन्छन्।

मूलतः अध्ययनको मुख्यबिन्दु भनेकै भावाव्यक्तिको सही ग्रहण हो जसलाई पात्र, परिवेश र घटनाको सही संतुलनले मात्र डोहोर्‍याउन सक्छ।

‘अनुराधा नेपाली साहित्यको विस्मयादिबोधक पात्र हुन्।’ कुनै महान् समालोचकले यही पंक्ति भनिदिएको भए तपाईं खत्रै कुरो भनेसरी मनमनै ताली पिट्नु हुन्थ्यो। तर म बबुरो पाठकले यसो भनिरहँदा तपाईंको जिज्ञासु मस्तिष्कले निधारलाई खुम्चिन आदेश दिइसक्यो।

अब यसको स्पष्टीकरण मैले दिनैपर्छ। नदिउँ, यो मेरो लागि जोखिमयुक्त छ। जोखिमयुक्त यस अर्थमा कि मेरो समालोचना तथ्यमा नभई अड्कलमा आधारित रहेको बात लाग्न सक्छ। म यो जोखिम लिदिनँ पनि, किनकि जोखिम लिनसक्ने परिपक्वता ममा आइसकेको छैन।

फेरि जोखिम लिइँदैमा लिइने कुरो पनि त होइन, यो त संयोगवश अस्तित्व ग्रहण गर्ने गर्दछ। खैर यी गौण कुरा भए। यसमै नरुमल्लिउँ।

विजय मल्ल उत्कृष्ट लेखक हुन्। उनको लेखनीलाई उपेक्षा गर्ने ठाउँ छैन। अनुराधामार्फत उनले कति मिजासयुक्त तरिकाले वियोगान्त प्रेम कथा प्रस्तुत गरेका छन्।

एक मानसिक असन्तुलन आइमाई र एक अन्तर्मुखी लोग्नेमान्छेको बीच कति दृढतापूर्वक प्रेम प्रतिबिम्बन गर्न सफल छन्। तर पनि यस्तो लाग्छ उनले अनुराधा अपूर्ण लेखिदिए या भनौं हतार गरेर चाहिनेभन्दा धेरै अगाडि नै उपन्यास लेखनी बिट मारिदिए।

लेखक के-कस्ता कारणले यसो गर्छन् म जान्दिनँ, कतिपय लेखकहरु चाहेरै यसो गर्छन् अरे। ठ्याक्कै के कारणले ठिक यस्तो हुन्छ भन्ने समालोचक फिटिक्कै बुझ्दैनन्, म जस्ता बबुरो पाठकले त बुझ्ने कुरै भएन।

‘अनुराधा’ उपन्यासमा केन्द्रकृत भएको मुख्य कुरा भनेको मुख्यपात्र ‘अनुराधा’ प्रति पाठकको मनमा उब्जने सहानुभूति हो। यसले पाठकलाई बामे सर्दै गरेको बालकलाई झैँ हिँडाउँछ।

यहाँ सहानुभूति भन्नाले भावनात्मक सहानुभूति भने होइन। सहानुभूति भनेर प्रष्ट्याउन खोजेको समाजिक/मानसिक उतारचढाव हो। यस अन्तर्गत अनुराधाको शारीरिक सुन्दरताले उब्जाएको जटिलता हो।

उसलाई आफ्नो शारीरिक सुन्दरताको अभिमान र घमण्ड भएको कुरा एकभन्दा धेरै ठाउँमा उल्लेख गरेका छन्। उसको शारीरिक सुन्दरतालाई चाहिनेभन्दा बढी प्राथमिकतामा राखेकी छन् जसले अन्ततोगत्वा उसलाई उल्झनमा नमजासँग पुर्याएको छ। सायद उसले सोचेकी थिइन, उसको सुन्दरताभन्दा पनि त्यसप्रतिको अभिमानले भविष्यमा कस्तो भयावह परिणाम बोकेर आउँनेछ।

अनुराधाको जीवनमा विभिन्न मोडहरु आए। केही मोडहरु त यस्ता पनि थिए जसले उसको जीवनलाई नै विपरीत दिशामा अग्रसर गराइरह्यो। ऊ समस्याहरुको दलदलमा फसेकी छे।

एकैपटक सम्पूर्ण समस्या उत्पन्न नभएर क्रमशः एकपछि अर्को गर्दै सिर्जित हुन्छन्। र त्यसको मुख्य दोषी ऊ स्वयं आफू हो जस्तो कि दलदलमा फसेको मानिसलाई स्वयं आफ्नै हलचलले थप जोखिममा पुर्याउँछ।

ऊ दलदलबाट बाहिर आउने अवस्था झनै नाजुक देखिन्छ। उसलाई त्यस दलदलबाट बाहिर तान्न अन्य पात्रहरु ऊप्रति उदार बिल्कुलै देखिदैनन्।

लेखकले अनुराधालाई कुनै एक गरिब घरकी छोरीको रुपमा पनि प्रस्तुत गर्न सक्थे। तर अहँ! उनले त्यसो गरेनन्। उनलाई त एक सभ्रान्त परिवारमा पुलपुलिएकी छोरीको प्रतिबिम्ब उतार्नु थियो। धन्न मनोविश्लेषणको जगमाउ भिएर नारीवादी चिन्तनलाई विफल हुन उनले दिएनन्।

अनुराधाले स्कुले जीवनमा विभिन्न परपुरुषको प्रेम प्रस्ताव त्यागेकी छे। आफूलाई मन पराउनेलाई पनि प्रस्ताव राख्न सक्दिन। उसलाई आमा बिरामी भएको भनी काठमाडौं आउँदा उसको बिहेको कुरा चल्छ र उसको विद्रोहका लहरहरु सुरु हुन्छन्। आमा र दिदीहरुले षड्यन्त्रपूर्वक गराउन खोजेको बिहे ऊ पूर्ण अस्वीकार गरेर निस्कन्छे।

पत्याउन अलिक अस्वभाविक भएतापनि जुन पुरुषसँग ऊ बिहे नगर्ने होडमा विद्रोह गरेर निस्किएकी हुन्छे, ऊ उसैको घर जान्छे। भलै ऊ बदला लिने अभिप्रायले कम्मरमा छुरी लुकाएर गएकी हुन्छे, छुरी हान्न आँट भने उसमा रत्तिभर हुँदैन।

उसले आफूसँग छुरी लुकाएर डाइरेक्टरकै घर जाने कुराले समाजिक मनोवृत्तिमा महिलाको कुण्ठित अवस्थालाई अर्थपूर्ण तवरले प्रस्तुत गरिएको छ। यद्यपि यो घटनाको समीकरण काकतालीमै विलीन भएर जान्छ। किनकि हामीले चाहेजस्तो सफल निष्कर्ष र घतलाग्दो निचोडमा यी घटनाक्रमले ल्याइपुर्याउँदैनन्।

बदला लिने मनासयले डाइरेक्टर रत्नमानको घरमा गएकी अनुराधा डाइरेक्टरकै भाइ समुद्रमानसित प्रेमको नाटक गरेर दाजुभाइका बीचमा गम्भीर मनमुटाव ल्याइदिन सफल बन्छे।

विस्तारै ऊ मानसिक समस्यामा पिल्सिन थाल्छे। ऊ पूरै बहुलाउँछे। त्यसपछि उसको जीवनमा कोमलमान आउँछ। उसले अनुराधालाई सहयोग गरेर अचेत अवस्थाबाट चेत अवस्थामा पुर्याउन सफल हुन्छ।

अनुराधा आफ्नो विगत कोमलमानलाई सुनाउँछे। कोमलमान अनुराधालाई मन पराउन थाल्छ। यसै क्रममा अनुराधा कहिलै होसमा नआउनेगरी पुनः बहुलाउँछे।

अनुराधा सहरीया परिवेशसँगै आधुनिकताको लयमा अग्रसर हुँदै आधुनिक मनोविज्ञान बोकेकी युवती जो घरायसी पुरातन मनोविज्ञानमा पिल्सिन पुग्छे र ऊ आफ्नी आमा र दिदीहरुको नियतको शिकार हुन पुग्छे।

सोही कारण उसमा बदलाको भावना जन्मन्छ र असाधारण कदम चाल्ने जमर्को गर्न थाल्छे जुन तत्कालीन समाजमा कुनै महिलाले सहजै गर्न सक्दैनन्। त्यसो हुनाले पनि यसलाई मनोसामाजिक विद्रोह मान्न सकिने ठोस आधारहरु छन्।

तसर्थ यो कथा तत्कालीन समाज आधुनिकता तिर अग्रसर हुँदाको बखत र सोही परिस्थितिलाई पाठकहरु माझ कलात्मक प्रस्तुतिले समेट्न खोजिएको छ।

उपन्यासको सशक्त पाटो भनेको पात्रहरु बीचको विविधता हो। अनुराधा, रत्नमान, कोमलमान, समुन्द्रमान, अनुराधाकी दिदीहरु र आमामा भिन्नभिन्न स्वभाव र प्रकृतिका पात्रहरु हुन्। एक अर्थमा अधिकांशको स्वभाव एकाअर्कासँग भिन्न छन्।

जस्तै अनुराधामा पिताप्रति अस्वभाविक आकर्षण देखिन्छ भने कोमलमानमा माताप्रति अस्वभाविक आस्था छ। फ्रायडवादी सिद्धान्त अनुसार हेर्ने हो भने कोमलमानमा इडिपस ग्रन्थीको प्रभावभन्दा पनि असर बढी देखिन्छ किनकि आमाको मृत्युपछि ऊ आफ्नो विवाह गर्नुलाई आमाप्रति सौता हालेसरी कल्पन्छ।

उस्तै अनुराधाकी आमा र दिदीहरू इलेक्ट्रा ग्रन्थीको चरममा पुगेर अनुराधासँग बदला लिने भावनाले उसलाई रत्नमानसित जबरजस्ती विवाह गराइदिन खोज्छन्। जसको कारक तत्व नै उसको सौन्दर्य हो जुन अनुराधाको आमा र दिदीहरुबाट सह्य हुँदैन।

कथामा भएका पात्रहरू एकआपसमा विपरीत धुर्बी पात्रहरु हुन्। फलतः एक पात्रको अपूर्णता अर्को पात्रले पुर्ती गर्न सफल भनौं या असफल प्रयत्न गरिरहेकै छन्। पात्रहरूमा स्फुर्ति हुनु कथाको डोरी बलियो गरी बाटिदैँ जानू हो।

जसै अनुराधा हरेक पात्रसँगको संसर्गमा जान्छे तब कथाले कुनै नयाँ परिघटनामा आफूलाई अभ्यस्त गराइहाल्छ। कथाकार पनि यहाँनेर सफल देखिन्छन्। सफल यस मानेमा कि एउटा अबोध युवती अनुराधामार्फत सिर्जनामा नवीनता भर्न उनी हदैसम्म सार्थक देखिन्छन्।

कथाको क्षीण पाटो के छ भने कथा पीडा र बदलाको भावभन्दा माथि उठ्न संघर्षशील हुँदाहुँदै पनि उपयुक्त उडान लिनबाट चुकेको छ। फलस्वरूप कथाले सही उडान लिन नसक्दा कथाको परिधि फैलावट हुनबाट वञ्चित छ।

समग्र उपन्यास मुख्यपात्र अनुराधाकै सेरोफेरोमा घुम्छ। अनुराधा पात्रको रुपमा नेपाली साहित्यकै दिव्यदिप्ती हुन्। मानिसको जीवनमा उत्पन्न हुने रागविराग, क्रोधकुण्ठा, मूमूर्षूपन लगायत क्षणिक खुसीबीचको अन्तर्द्वन्दका कथाहरु पात्रहरूद्वारा प्रतिबिम्बन गरिएको छ।

अनुराधामार्फत प्रस्तुत हुने किशोरी हठ, अहम्, परपीडन, बदला भाव, जीवन उद्देश्य, भय र भ्रमको समिश्रण र तर्कहीन तनावले पात्रको रुपमा अनुराधामाथि दिव्यता थपेको छ।

अनुराधा जति शक्तिशाली पात्र छिन् त्योभन्दा समुन्द्रमान, कोमलमान र डाइरेक्टर रत्नमान त्योभन्दा कमजोर मलाई लाग्दैन। हरेक पात्र आफ्ना परिधिमा अब्बल छन्। पितृसत्तात्मक समाजको अस्वभाविक कोलाहलमय वातावरणमा अनुराधा एक्लो बृहस्पति पनि भएकी छन्।

कहीँकतै उनको विद्रोही स्वभाव प्रस्तुत हुन खोजे पनि सामाजिक अभ्यस्ततामा उनी निष्क्रिय भैहाल्छिन्। यिनै भाव र लेखकको कौशलताले पात्रमाथि हदैसम्म प्रकाश प्रदान गरेको छ।

त्यसैले यो उपन्यास नेपाली उपन्यासको इतिहासमा अग्रपंक्तिमा आउने मनोविश्लेषणको प्रयोगशालाका रूपमा चर्चित छ। अन्ततः प्रेम र घृणाको अन्तरद्वन्दमा अनुराधाको कथा सकिन्छ यद्यपि अनुराधापात्रको कथा भने कहिलै नसकिने श्रृंखलामा जोडिन्छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news