पाटन कलानगरी ‘रेड जोन’ मा

Logo १८ जेष्ठ २०७८, मंगलवार १३:१९ | Aadil Times                  

विश्व कला नगरीमा सूचीकृत हुने सहरमा आफ्नै आर्ट कलेज र तालिम केन्द्र हुनुपर्छ । सूचीकरणका बेला ललितपुर महानगरपालिकाले अर्काका कलेज र तालिम केन्द्र आफ्नो भनेर देखाएको थियो, आफ्नो लगानीमा भने योजना नै अघि बढाएन ।ललितपुर — पाटन भिन्छेबहालका ७३ वर्षीय लोकराज बज्राचार्य प्रख्यात कालिगड हुन् । १३ वर्षको उमेरदेखि ढुंगाका मूर्ति बनाउने पेसामा लागेका उनका प्रस्तर कलाकृति जापानको क्योटो राष्ट्रिय संग्रहालय, अमेरिका, मलेसिया, हङकङ, ताइवानलगायतसम्म पुगेका छन् ।

जर्मनीमा भएको अन्तर्राष्ट्रिय कला प्रतियोगितामा भैरवको मुखाकृति बनाइएको उनको सिर्जनाले तेस्रो स्थान हासिल गरेको थियो । उनी अहिले फुर्सदमा छन् । कारण, कच्चापदार्थ अभाव हुनु ।

‘दक्षिणकालीको हात्तीवनबाट ढुंगा आउन छोड्यो । अहिले २ फिटभन्दा अग्लो मूर्तिको अर्डर आएमा फिर्ता पठाउनुपरेको छ,’ बज्राचार्यले भने । मुस्किलले ढुंगा पाए पनि अत्यन्त महँगो पर्छ । ‘कच्चा पदार्थ महँगो परेपछि मूर्तिको मूल्य पनि धेरै पर्न जान्छ,’ उनले भने, ‘यसले बजारमा माग पनि कमी हुन थाल्यो ।’ हस्तकलामा लगानीअनुसार उचित मूल्य नपाएका कारण निराश भिन्छेबहालका सुजन बज्राचार्यले विकल्पमा वैदेशिक रोजगारी रोजे । ५ वर्षअघि उनी मलेसिया उडे । अहिले फर्किएका उनी प्रस्तरकलाको अवस्था झन् खस्किएको देखेर चिन्तित छन् । भन्छन्, ‘यो पेसा मात्र नभई संस्कृति परम्परा पनि हो । संरक्षण प्रवर्द्धन गर्न सरोकारवाला निकायको ध्यान जाओस् ।’ ललितपुर महानगर–१२ का रिक्सन राजकर्णिकारले भने यो पेसा चटक्कै छोडेर क्याफे खोले । सानु बज्राचार्यको पाटन नकबहिलस्थित प्रस्तरकलाको वर्कसप जेनतेन सञ्चालन छ ।

यी केही प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै घाटा लाग्न थालेपछि हस्तकला छाडेर अन्य पेसा अँगाल्ने थुप्रैजना छन् । ललितपुर लिच्छविकालदेखि कलाका लागि प्रख्यात मानिन्छ । अरनिकोजस्ता राष्ट्रिय विभूति पनि यही जन्मेका हुन् । पाटनको ओकुबहाल र नागबहाल मूर्तिकला, टंगाल धातुकला र ताम्रकला, बुबहाल चाँढी, गाःबहाल सुनका गरगहना, इखालखु र बुङमती काष्ठकला, सुनधारा प्रस्तरकला, बालकुमारी माटाका सामान, लुभु र हरिसिद्धि कपडा उद्योग, सिद्धिपुर परालजन्य, बडिखेल बेत बाँसजन्य र चापागाउँ प्याङबाट उत्पादित सामानका लागि प्रख्यात मानिन्छन् । पछिल्लो समय धातुकला र मूर्तिकलामा बिचौलिया हावी भएकाले साना व्यवसायी पलायन हुने अवस्था रहेको कपितय कलाकर्मीको भनाइ छ । प्लास्टिकका नाङ्लो, डालो, मुडा, कुर्सी भित्रिनु र बाँस पाउन मुस्किल पर्नाले बेतबाँसजन्य, मानापाथी बनाएर दैनिक गुजारा चलाउन गाह्रो परेकाले प्याङ र बालकुमारीमा माटाका सामान उत्पादन ठप्पजस्तै छ । पेसा फेर्न नसकेर परम्परा भन्दै थामिरहेकाहरूको पनि हालत नाजुक छ । कोभिड–१९ महामारीपछि धेरैको बिजोग छ । हस्तकला प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधिले चासो नदिएको गुनासो गर्नेहरू पनि धेरै जना छन् । सरोकारवाला संघसंस्थाले पनि केही गरेका छैनन् ।

यस्तै स्थिति भएमा विश्व कला परिषद् अमेरिकाले ललितपुरलाई खतराको सूचीमा राख्न सक्ने चेतावनी परिषद्का एसिया प्रशान्त क्षेत्रका निवर्तमान उपाध्यक्ष धर्मराज शाक्यले दिए । परिषद्ले ललितपुरलाई २०७५ मा विश्वको ३५ औ कला नगरीमा सूचीकृत गरेको थियो । त्यतिबेला मुख्य गरी यी कलाकृति, खुला संग्रहालयको रूपमा रहेको सहर र यहाँका अमूर्त संस्कृतिलाई आधार बनाएको थियो । परिषद्को गाइडलाइनअनुसार ललितपुर महानगरले परिषद्मा वार्षिक प्रगति प्रतिवेदन बुझाउनुपर्छ । कला नगरीमा सूचीकृत भइराख्न परिषद्को प्रत्येक वर्ष हुने साधारणसभाबाट पारित हुनुपर्छ । दुई वर्षसम्म रिपोर्ट पेस नगरेमा कला नगरीको सूचीबाट नाम हटाउन सक्ने व्यवस्था छ । ‘जनप्रतिनिधिले कला नगरीको थप विकास गर्न यहाँका उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, छुट्टै ब्रान्ड, संग्रहालय, बिक्री कक्ष खोल्ने, कालिगढलाई प्रत्साहनस्वरूप विभिन्न महोत्त्वाकांक्षी योजना ल्याउने प्रतिबद्धता जनाएका थिए,’ शाक्यले भने, ‘तर, महानगरले हस्तकला प्रवर्द्धन समिति गठन र तालिम दिनेबाहेक दिगो विकास हुने खालको केही गतिविधि गरेन ।’ वार्षिक रिपोर्ट पेस गर्न पटकपटक सहयोग गर्न नसकिने उनले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news