मंसिर ४ को सदुपयोग गरौं

Logo ४ कार्तिक २०७९, शुक्रबार १६:०६ | Aadil Times                  

शमशाद आदिल
भर्खरै एक महिना अघि पोर्चुगलमा एकजना गर्भवती महिलाको मृत्यु हुदा त्यहाँकी स्वास्थ्य मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी थिइन। उनको राजीनामाले अन्तरराष्ट्रिय जगतमा निकै चर्चाको विषय बन्यो। खासगरी नेपाल जस्ता दक्षिण एशियाली मुलुकहरुले यस घटनाबाट पाठ सिक्नु पर्ने हो । जहाँ जनतालाई सेवा प्रवाह गर्न संविधान माथि उच्चतम विश्वास व्यक्त गर्दै शपथ खाने गर्दछन तर पदधारण पश्चात सिंहदरबारका सिंहहरु देखि गाउँ गाउँ सम्म निर्माण भएका नव-सिंहहरु शपथलाई फकत प्रक्रिया मात्र रहेको अर्थ्याउछन । पदको श्रृंगारमा शपथ कुर्सी माथिको एउटा जलप चढ़ाउने गर्दछन । पोर्चुगलको स्वास्थ्य मन्त्रीको राजीनामा एउटा समाचार एउटा ब्रेकिंग न्युजको रुपमा मात्र सुनेर विर्सिने जनताहरु आफ्नो सिंहहरु माथि कहिले प्रश्न गर्लान् ?

संविधान जारी भएको सात वर्ष र संघीय तथा प्रादेशिक सभाहरु सदस्यहरुको पाँच वर्षको सम्पन्न हुदै नया सदस्यहरुको छनौटमा देश जादैछ । जबकी स्थानीय तहमा सिंहदरबारीहरुको छनौट भइसकेकोछ । लोकतन्त्रको महापर्व भनेको निर्वाचन हो । जहाँ जनताले आफ्नो मताधिकार प्रयोग गर्दै आफ्नो लागि आफ्नै बाट प्रतिनिधि छनौट गरी अगाडि बढाउने गर्दछन। आउदो मंसिर ४ गते प्राप्त हुने उक्त अवसरलाई आफ्नो अवस्था परिवर्तनको लागि प्रयोग गरिनुपर्दछ। नया संविधानले परिकल्पना गरे अनुसार संघीयतालाई पूर्णतः कार्यान्वयन गर्न वर्तमान व्यवस्था प्रति पुर्ण वफादार रहने प्रतिनिधिको छनौट हुनुपर्छ।
१.  मतदाताले आफ्नो प्रतिनिधि छनौट गर्ने क्रममा सर्वप्रथम संविधान प्रति प्रतिबद्ध रही संविधानले परिकल्पना गरेको संघीयता समावेशिता धर्मनिरपेक्षता र समाजिक न्यायलाई आफ्नो नीतिगत र व्यवहारिक शैलीले आत्मसात स्वीकार गर्ने पात्रहरुको छनौट हुनुपर्छ । संविधान मार्फ़त राज्यले प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्न सक्नेहरुले नै मात्र जनताको व्यथालाई महसुस गर्न सक्छन। परिवर्तनको लागि अगाडि आउन सक्छन ।

२. संवैधानिक उपलब्धिहरुलाई संरक्षण गर्न सक्ने क्षमतावानहरुको पहिचान गर्नुका साथै जनताको दैनिक जीवनमा खेपनु परेको सास्तिलाई नीतिगत सुधार गर्न सक्ने साहसी प्रतिनिधिको छनौट भए मात्र लोकतन्त्रको पुर्ण आभास हुनसक्छ । जनताको समस्यालाई छलेर लोकतांत्रिक राज्यको प्रत्याभूति हुन सक्दैन। धनि देखि गरीब सम्म शहरिया देखि ग्रामीण क्षेत्रको छाप्रो सम्म समान व्यवहार गर्न सक्नेलाई अवसर दिनुपर्दछ। जनताले स्वास्थ्य शिक्षा यातायात रोजगार जस्ता विषय क्षेत्रमा दिनहुँ भोगिरहेका समस्यालाई नजरअंदाज गर्ने प्रतिनिधि कदापि परिवर्तनको सारथी हुन सक्दैन।
३. मंसिर ४ गते हुने निर्वाचनमा जनताले संघीय र प्रदेश सभाको लागि प्रतिनिधि पठाउनेछन् । जसले नीतिगत रुपमा बढ़ी काम गर्ने हुनुपर्छ।संविधानले दिएको हक अधिकारलाई कानुनी तर्जुमा गर्नुपर्ने हुन्छ। आफ्नो जनताको आवाजलाई राज्य समक्ष प्रस्तुत गरि समाधानको लागि तत्परता देखाउन सक्ने  प्रतिनिधि पात्रको छनौट हुनुपर्छ । नेपालमा प्रायः पार्टी भन्दा बढ़ी पात्रको आधारमा मतदान हुनेगर्दछ । तर विकसित मुलुकहरुमा पार्टीगत छनौट लाई बढ़ी प्राथमिकता दिने गरेको पाइन्छ ।

४. यो देशको समाज बुझ्नुका साथै प्राकृतिक सम्पदाहरुलाई आर्थिक रुपमा रूपांतरण गर्न सक्ने खालको पात्रको आवश्यकता छ । समाजमा रहेको स्रोत साधनहरुको उचित व्यवस्थापन गरि आयआर्जन तर्फ उन्मुख हुने नेतृत्व चाहिएको छ । विदेशमा हैन देशमा नै स्वरोजगारको वातावरण बनाउने दृढ इच्छाशक्ति भएको पात्रलाई निर्वाचित गराउन जरूरी छ ।

अहिले राजनीतिमा संलग्न रहेकाहरुले सिद्धान्त र विचारलाई तिलाञ्जलि दिएर  गुटबन्दी गरेर सत्ता अपहरण गर्नेहरुको बोलबाला भएकोछ। काठमांडौको रत्नपार्क न्यूरोडको सड़क छेउ विक्री हुने विश्वका अनेकौँ क्रांतिकारी परिवर्तनकारीहरुको जीवनी पढेर हामी सिंगापुर , कोरिया र कतार बनाउन सक्दैनौ । त्यही अनुरूप त्याग तपस्या र इच्छाशक्ति अपरिहार्य छ । अहिलेको समाजको मुहार बदल्नु पर्दछ । तपाई हामी कै कांधले त्यो भारी बोक्नु पर्दछ। परिवर्तन सम्भव छ।


सम्बन्धित खबर