मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन मिल्दैन – ओली

Logo ६ मंसिर २०७८, सोमबार ०६:५९ | Aadil Times                  

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन् । नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पूरा भएको सन्दर्भमा ओलीले संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा आफ्ना धारणा राखेका हुन्।

सो अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने हाम्रो धारणा रहिआएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्दा संक्रमणकालीन न्यायका बाँकी कार्यभारका सम्पन्न गर्न प्रयास गरेको तर द्वन्द्वमा संलग्न परस्परविरोधी पक्षका फकर–फरक चासोले गर्दा अवरोध पुगेको आरोप लगाएका छन्।

‘संक्रमणकालीन न्यायका क्षेत्रमा बाँकी रहेका कामलाई सम्पन्न गर्ने उद्देश्य राखी हाम्रो नेतृत्वको सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा सर्वोच्च अदालतको आदेश अनुरुप संशोधन गर्न देशव्यापी परामर्श गर्नुका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगको कार्यकाल थपसहित पदाधिकारीहरू बहाल गरी संरचनात्मक व्यवस्थापनका कामहरू गरेको पनि म स्मरण गर्न चाहन्छु,’ ओलीले भनेका छन्, ‘द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न हामीले सरकारमा रहँदा सचेत प्रयत्न गर्‍यौँ । यद्यपि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरू चाहेर पनि सम्बोधन गर्न नसकिएको विषय म यस अवसरमा स्पष्ट गर्न चाहन्छु ।’

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news