मानसिक स्वास्थ्य शिक्षाको आवश्यक्ता

Logo २४ आश्विन २०७९, सोमबार ०८:४३ | Aadil Times                  

सन्दर्भ “विश्व मानसिक स्वास्थ्य दिवस २०२२”

विश्व स्वास्थ्य सङ्गठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुने अवस्था हो। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ। तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भए पनि वास्ता गर्दैनौ। जबकि शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अति नै आवश्यक छ। मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधुरो छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन। मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु मात्र होइन बरु मनमा अनावश्यक डर, त्रास ,उदासीपन, खुशीको अनुभूति नहुनुका साथै तनाव सहने सक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवन बीच सन्तुलन कायम राख्न सक्षम नहुनु , बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असमान्य परिवर्तन हुनु भन्ने बुझ्नु पर्दछ। साथै मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ। यही असहनीय पीडाकै कारण विरामीहरु आफु मर्न वा अरुलाई मार्न समेत पनि पछि पर्दैनन् । विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको पाइएको छ र प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृति कै कारण हुने गर्दछन। तसर्थ हामी मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै औषधि उपचार गरायौं भने यसरी अकालमै मर्ने अगन्य व्यक्तिहरुको ज्यान सजिलै जोगाउन सफल हुन्छौं र विरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं ।
सन् १९७८ मा नै मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्यको रुपमा सर्व साधारणलाई सेवा प्रदान गर्नु पर्दछ भन्ने अवधारणा आएता पनि अहिलेसम्म व्यवहारमा लागु हुन सकेको छैन। आज विश्वभरिमा मानसिक स्वास्थ्य समस्याहरु महामारी झैं दिनप्रदिन बढ्दै गइरहेका छन्। विभिन्न अध्ययनहरु अनुसार विश्वमा करीब २०% देखि २५% जनसंख्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइएको छ। नेपालमा पनि यसले एउटा गम्भीर जनस्वास्थ्य समस्याको रुप धारण गरिसकेको छ। बर्षौंको द्वन्द्वकाल, राजनैतिक अस्थिरताका साथै बाढी, पहिरो, भुकम्प तथा कोरोना महामारी जस्ता विपद घटनाहरुले पनि हाम्रो मानसिक स्वास्थ्य माथि बढी नकारात्मक असर परेका छन्। हाम्रो समाजमा रक्सी लगायत अन्य नशालु तथा लागू पदार्थहरुको सेवन दिन प्रतिदिन बढ्दै गइरहेको छ। जसले गर्दा यसबाट हुने शारीरिक, सामाजिक तथा आर्थिक समस्याहरुको पीडाले सम्पूर्ण परिवारको मानसिक स्वास्थ्य जोखिमपूर्ण अवस्थामा हुन्छ। नेपालबाट विशेष गरी युवा युवतीहरु बैदेशिक रोजगारका कारणले विदेशतिर पलायन भइरहेका छन्। जहाँ उनीहरुलाई अनेक मानसिक तनावबाट गुज्रिनुपर्ने बाध्यता रहेको हुन्छ। साथै यता घरमा बच्चाहरु लगायत सम्पूर्ण परिवारमा तनावको अवस्था सिर्जना हुन् सक्दछ। यसकारण उनी सबैलाई डिप्रेसन लगायत विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरु हुने सम्भावना बढी हुन्छ। यसकारण बाल बालिका लगायत अधिकांश नेपाली जनताहरुको मानसिक स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ। यस कुरालाई नेपालमा बढ्दै गइरहेको आत्महत्याको संख्याले पनि धेरै हदसम्म पुष्टि गरेको छ। तैपनि मानसिक स्वास्थ्यप्रतिको जनचासो, सरकारी तथा गैरसरकारी निकायहरुको प्राथमिकता निकै कम देखिएको छ। यसरी नै समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना तथा शिक्षाको कमी रहेमा यी समस्याहरु निकट भविष्यमा अझै विकराल बन्न सक्दछ। जनतालाई आधारभूत मानसिक स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको कर्तव्य हो । जुन संबैधानिक अधिकार पनि हो। मानसिक स्वास्थ्यका निम्ति आवश्यक पूर्वाधारहरूका लागि सरकारले बजेट बढाउन पनि उत्तिकै आवश्यक छ र सम्बन्धित सबै पक्षले आ-आफ्नो स्थानबाट मानसिक स्वास्थ्यका समस्याहरूको न्यूनीकरणको लागि यथोचित पहल गर्नुपर्दछ।
हाम्रो समाजले मानसिक विरामीहरुलाई फरक फरक नजरले हेर्ने गरेको पाइन्छ। मानसिक विरामीहरुलाई दैवी शक्ति वा प्रेतात्मा आदिबाट प्रभावित भएको रुपमा देखने गरेको छ। कतिले त यसलाई नाटक ठानेर बेवास्ता पनि गर्दछन। समाजमा यस्ता विरामीहरुलाई बोक्सीले किचकन्नी लगाई दिएको आरोपमा गरिब तथा असहाय महिलाहरुलाई निर्घात कुटपिट गर्ने, मलमुत्र समेत खुवाउने, साथै झारफुकको नाममा धामी झाँक्रीहरुले झन शारीरिक एवं मानसिक यातना दिएको घटनाहरु बारम्बार दोहोरिरहेका छन्। जसले गर्दा धेरैले त आत्महत्या पनि गरेका छन्। समाजले मानसिक विरामीहरुलाई कि वेकम्मा ठानेर फलामे साङ्गलाले बाँधी खोरभित्र आजीवन थुनेर अमानवीय अवस्थामा राखने गरेको छ कि त छाडा जनावर झैं सडकमा थुपारिएका गन्हाउने डंगुरबाट सडेगलेका खानेकुरा टिपेर खाँदै गरेको जनावर भन्दा पनि तल्लो स्तरको जीवन जिउन वाध्य तुल्याएको छ। त्यहीं समाजले तिनीहरुको उचित व्यवस्थापन गर्नुको सट्टा आफ्नो नाकमुख छोपी मूकदर्शक बनेर सबै हेरिरहेको हुन्छ। यसबारे सरकारले पनि मौन धारण गरेको अवस्था छ। के यस्ता विरामीहरु प्रति समाज र सरकारको केही जिम्मेवारी छैन त ? के हाम्रा आफ्नै बुवाआमा, छोराछोरी, भाइबहिनी वा स्वयम् आफुलाई यस्ता समस्याहरु हुनै सक्दैन भन्न सकिन्छ र? एक पटक मनन गरौँ र यस्ता विरामीहरुको औषधि उपचारमा यथासम्भव सहयोग तथा सहकार्य गरौँ। प्रायः बिरामीहरु समाजमा अनावश्यक रूपमा हेलाको पात्र होइएला भनेर रोगलाई लुकाउने गर्दछन। यहाँसम्म कि बिरामीहरु मानसिक स्वास्थ्य सम्बन्धी औषधि पनि अरुलाई थाहा न दिईकन खाने गर्दछन। अन्य विरामीहरु झैं मानसिक विरामीहरुको पनि सफल उपचार सम्भव छ। झारफुकको नाममा विरामीलाई औषधि उपचारबाट वंचित राख्नु भनेको उसको मानव अधिकार हनन गर्नु हो। औषधि उपचारकासाथै समाजले सहानुभूति, भावात्मक सहारा, स्नेहपूर्ण व्यवहार गरिदिएकोमा तिनीहरु पूर्ण रुपमा निको हुन्छन। फलस्वरूप समाजमा तिनीहरु पनि हामी जस्तै सामान्य जीवन निर्वाह गर्न सक्षम हुन्छन।

(लेखक डा० मो० ऐनुद्दीन बागबान नेपालगंज मेडिकल कलेजका नशा तथा मनोरोग विशेषज्ञ हुन l)
[email protected]


सम्बन्धित खबर