विज्ञहरूसँग सुझाव लिँदै माओवादी घाेषणापत्र मस्याैदा समिति

Logo ३१ भाद्र २०७९, शुक्रबार २३:५३ | Aadil Times                  

आदिल टाइम्स । काठमाडौं । ३१ भाद्र ।

मङि्शर ४ मा हुने संघीय र प्रादेशिक निर्वाचन लक्षित निर्माण गर्न लागिएको घोषणापत्रमा माओवादी केन्द्रले सरोकारवाला र विषयविज्ञहरूको सुझाव लिने निर्णय गरेकाे छ ।

शुक्रबार दिउँसो पार्टी मुख्यालयमा संयाेजक नारायणकाजी श्रेष्ठकाे अध्यक्षतामा बसेको निर्वाचन प्रतिवद्धतापत्र मस्यौदा कार्यदलको बैठकले विज्ञहरूको सुझाव लिने निर्णय गरेको हो ।

बैठकमा मस्यौदा समितिका संयाेजक तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादउन्मुख राज्यको अवधारणा प्रतिविम्बित हुने गरी प्रतिवद्धतापत्र लेख्न विज्ञ र सरोकार पक्षको सुझाव लिने प्रस्ताव गरेका थिए।

बैठकले आगामी असोज ६ गतेदेखि ८ गतेसम्म सुझाव संकलनका निम्ति कार्यतालिका निर्माण गरेको छ।

मस्याैदा समितिले बाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकूद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षाहित, सुरक्षा र परराष्ट्र मामिला, उर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्षा तथा सामाजिक न्याय, समावेशी क्लष्टर, पूर्वाधार विकास लगायतका विषयहरू छनाैट गरी सो क्षेत्रका विज्ञहरूसँग औपचारिक अन्तरक्रिया गर्न लागेको मस्याैदा समितिका सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जाकिर हुसैनले जानकारी गराएका छन् ।

घोषणापत्रमा समसामयिक राजनीतिक र माओवादी दृष्टिकोण, नेपालको कम्युनिष्ट आन्दोलन र माओवादीको योगदान, विभिन्न राष्ट्रिय नीतिबारे माओवादी दृष्टिकोण, आगामी पाँच वर्षकालागि माओवादीले अघि सार्ने नीति तथा कार्यक्रमहरू, केही राजनीतिक प्रतिबद्धताहरू र राजनीतिक स्थायित्वका निम्ति अपील लगायतका विषयहरू समेटिने छन् ।

निर्वाचन प्रतिबद्धतापत्र नाम दिइने घोषणापत्रमा नवीनतम मुद्दाहरू अगाडि सार्ने माओवादीले तयारी गरिरहेको हुसैनले बताएका छन् ।

उप-प्रधानमन्त्रीसमेत रहिसकेका श्रेष्ठको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिव वर्षमान पुन, गिरिराजमणि पोख्रेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लिलामणि पोख्रेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसैन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा. पूर्ण लोक्सम, नहेन्द्र खड्कलगायतका नेताहरू सदस्य छन् ।


सम्बन्धित खबर