विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय

Logo २ असार २०७८, बुधबार १४:०६ | Aadil Times                  

मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले विपद प्रतिकार्य योजना पारित गरेको छ ।

गृहमन्त्री खगराज अधिकारी नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गर्दै कार्ययोजना पारित गरेको हो ।

मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्टलगायतका आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताए ।

यसैगरी नुवाकोटको दुप्चेश्वरको भीरमा अड्किएको ठूलो ढुंगालाई व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news