विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको प्रतीक्षामा नेपाल

Logo १९ जेष्ठ २०७८, बुधबार १९:५९ | Aadil Times                  

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ ।कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ ।नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।अष्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्मको चार खेलमा शतप्रतिशत जितको नतिजासहित अष्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ । ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जितबाट ३ अंक जोडेको छ र चाइनिज ताइपेई पाँचै खेल हार्दा अंकविहीन छ ।समूह बी का शीर्ष ३ टिम समूह विजेता बन्दै विश्वकपको तेस्रो चरणमा पुगेर एसिया कपमा सिधै छनोट हुन चाहन्छन् । नेपाल र चाइनिज ताइपेई भने समूहमा चौथो बन्ने एसियाका ८ टिममध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

एसियामा कुल २४ टिमले अन्तिम चरणको छनोट खेल्नेछ भने त्यसबाट १२ टिम चीनमा हुने एसिया कपमा छनोट हुनेछ । नेपालको अहिलेको लक्ष्य भनेको विश्वकप नभई एसिया कपमा छनोट हुने हो र चाइनिज ताइपेईको चाहना पनि त्यही हो ।अर्कोतर्फ समूह एमा रहेको उत्तर कोरियाले छनोट चरणका बाँकी खेल नखेल्ने निर्णय गरेपछि यसको पूरा असर बाँकी ७ टिमलाई परेको छ ।सबै समूहको अंकको हिसाब मिलाउन एएफसीले समूह चरणका सबै खेल सकिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने टिमको खेलको अंक नगन्ने निर्णय गरेको छ । त्यस्तै चौथो हुने र पाँचौ हुने बीचको खेलको नतिजा पनि गणना हुने छैन । उत्तर कोरियाले यसअघि खेलेका सबै खेलको नतिजा रद्द भएको छ भने बाँकी खेल पनि रद्द गरिएको छ ।यस्तो अवस्थामा अब नेपालले समूहमा चौथो हुँदै ८ मध्ये उत्कृष्ट चारमा पर्न चाइनिज ताइपेईलाई हराएर मात्र हुँदैन जोर्डनलाई समेत हराउनुपर्ने दबाब छ ।नेपालले आफूसँग भएको ३ अंक समूहको अन्तिममा रहेको चाइनिज ताइपेई विरुद्ध जोडेको थियो । त्यसैले ८ वटै टिमको चौथो स्थानमा रहने टिमहरुमध्ये नेपाल अहिले आठौं स्थानमा छ । शीर्ष चारमा पर्न कम्तीमा पनि नेपालले जोर्डनलाई हराउनैपर्नेछ जुन नेपालको लागि कठिन छ ।जोर्डनसंग नेपालले अहिलेसम्म ३ खेल खेल्दा २ मा हार बेहोरेको छ भने एक खेल बराबरी गरेको छ ।अहिले खेल हुने कुवेत जोर्डनको लागि सुहाउँदो छ भने नेपालको लागि उच्च तापक्रममा खेल्नु चुनौती नै छ । भलै नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेतको वातावरणमा केही अभ्यस्त हुने अवसर पाएको छ ।चाइनिज ताइपेईको लागि पनि नेपाललाई हराएर मात्र हुने छैन उत्कृष्ट चौथो हुने हो भने जोर्डनलाई पनि हराउनुपर्नेछ ।यदि चौथो स्थानमा रहेर सबै समूहको चौथोमध्ये उत्कृष्ट चारमा पर्न नसकेको नेपाल वा चाइनिज ताइपेई जो भएपनि एसिया कपको तेस्रो चरणमा पुग्ने सिधा बाटो बन्द हुनेछ ।यस्तो अवस्थामा फेरि प्लेअफ खेल्दै तेस्रो चरणको छनोटमा पुग्ने अवसर त हुनेछ तर त्यो उत्तिकै कठिन पनि हुनेछ । प्लेअफका खेलहरु दुई लेगको र नकआउट हुनेछ । प्लेअफ पनि दुई चरणमा हुनेछ । पहिलो चरणमा प्लेअफ हार्नेले अर्को अवसर पनि पाउनेछ ।

चाइनिज ताइपेईसँग नेपाल अपराजित

अहिलेसम्म चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । नेपालले विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईलाई हराएको थियो भने एक मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा निकालेको थियो ।नेपाल र चाइनिज ताइपेई पहिलो पटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । यस्तै २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवै जना नेपाली टोलीसँगै कुवेतमा छन् ।छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । चाइनिज ताइपेई विरुद्ध खेलेका १० खेलाडी अहिले पनि नेपाली टिममा छन् ।फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news