हमालको गुनासो, ‘अव्यक्त प्रेम व्यक्त गर्ने समय पाइएन’

Logo २६ जेष्ठ २०७९, बिहीबार १३:४३ | Salauoldin Ansari                  

अभिनेता राजेश हमालको जीवनशैलीको फ्यान नहुने कमै छन् । लोभ लाग्दो स्टारडमले उनी तर्फ आकर्षित नहुनेको संख्या निकै कम होला । हमालको स्टारडमसँग परिचित हुनेको संख्या निकै उच्च भएता पनि उनलाई नजिकबाट बुझ्नेको संख्या निकै कम छ । उनी आफैँ खुल्न नसक्ने बताउँछन् । पछिल्लो समय एक इभेन्टमा ‘आत्मकथा’  सुनाउने क्रममा भने उनी केही खुले । अभिनेता हमालले आफ्नो फिल्मी यात्रासँगै आफ्नो परिवारसँगको कुराहरू पनि साटे । आत्मकथा सुनाउँदै गर्दा उनले भन्दै थिए ‘म खासै खुल्दिनँ , त्यसैले यस्तो कुरा सायद फिल्मकर्मीलाई पनि थाहा छैन ।’ उनले आफ्नो परिवारसँगको सम्बन्धको बारेमा खुलेर बोले। राजेशका बुवा कूटनीतिज्ञ थिए ।

No description available.

 ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि पढ्नुभएको थियो । बनारसमै उहाँहरूको प्रेम भयो र पछि विवाह भयो’ राजेशले सुनाए । उनले बुवा २२ वर्षको उमेरमा पद्मोदया हाइस्कुलमा हेडमास्टर भएपछि परिपक्क देखिने स्वभाव बढेको बताए । ‘उहाँ र म बीच भिन्नता थियो अनि उल्टो तालमेल – म चाहिँ जहिल्यै जवान बन्न खोज्छु । मेरो बुबा चाहिँ पाको देखिन खोज्नुहुन्थ्यो । स्कुलमा आफूलाई पत्याओस् भनेर उहाँ अलिक बूढो हुन चाहनुहुन्थ्यो । उहाँले फुलेको कपाललाई गर्वका साथ देखाउनुभएको थियो’ राजेशले भने । स्कुले जीवन ३/४ देशमा बिताइसकेका राजेशले उच्च शिक्षा भने भारतबाटै लिएका थिए । तर, उनी अभिनेता बन्ने लक्ष्य लिएर अगाडि बढे ।

भारत रहँदा नै राजेशलाई मामा समेत रहेका निर्देशक दीपक रायमाझीले काठमाडौं फिल्म खेल्न बोलाए । सन् १९८७ मा रायमाझीले निर्देशन गर्ने फिल्म ‘भाग्यरेखा’ को मुख्य कलाकारमा हमालसँगै करिश्मा मानन्धरलाई कास्ट गरिएको थियो । यद्यपि केही दिन छायांकन गरेपछि निम्तिएको विवादले गर्दा हमालले प्रोजेक्ट छाडे । रविन्द्र खड्का र मौमसी मल्ललाई लिएर दीपकले फिल्म छायांकन गरे । यो फिल्म ‘ब्लकबस्टर’ बन्यो । यद्यपि २०४६ सालमा हमालले मामाकै फिल्म ‘युगदेखि युगसम्म’ बाट डेब्यु गरे । 

त्यसबेलामा पनि शिक्षा राम्रो भएको र परिवार शिक्षित भएकाले राजेशले राम्रो शिक्षा पाए । साथी र संगत पनि त्यस्तै भयो । त्यसै कारण हुनसक्छ उनले फिल्मनगरी रोजेपछि आफ्नैको साथ पाएनन् । ‘मेरो साथी सर्कल सबै अर्कै पेशामा थिए । त्यसैले यहाँ सपोर्ट आउने कुरै भएँन’ उनले सम्झिए । घरमा बुवा र मुमाले पनि राजेशलाई अन्य काम गर्न सुझाएका थिए । ‘परिवार कलाप्रेमी नभएको हैन तर, नेपाली फिल्ममा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्न थियो’ उनले सम्झिए । त्यसपछि केही समय परिवारसँग टाढा भएँ । यद्यपि हमाल सफलताको श्रेय परिवारलाई नै दिन्छन् ।

उनलाई एउटै दुखेसो छ , उनले बुवासँग संवाद गर्न पाएनन् । जब उनी फिल्ममा आए त्यसपछि बुवासँग संवाद कम भयो  । त्यसमाथि उनी फिल्ममा व्यस्त । उनको बुवाको पहिलो पोस्टिङ र अन्तिम पोस्टिङ पनि पाकिस्तान नै भयो । र, पाकिस्तानमै हुँदा असामयिक निधन भयो । तात्कालिन पाकिस्तानी राष्ट्रपतिलाई भेटेर नेपाल एम्बेसी जाने क्रममा हमालका पिताको निधन भएको थियो । ‘काम गरिरहेको छु र एकदिन अवश्य मनाउनेछु भन्ने थियो तर अचानक उँहाको निधनको खबर आयो’ हमालले भावुक हुँदै सुनाए । उनले बुवालाई ‘गुड बाई’ पनि भन्न पाएका थिएनन् । ‘त्यतिबेला फिल्मको भविष्य यस्तो थिएन, त्यसैले उँहा केही रुष्ट हुनुहुन्थ्यो । त्यसैले अन्तिम पटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो’ राजेश त्यतिबेला गोपी कृष्णको छायाँकनमा थिए । उनले बाबु र छोरा बीच अव्यक्त प्रेम भएपनि त्यसलाई व्यक्त गर्ने समय नमिलेको बताए । 

‘समय छ भन्ने थियो तर समय त कहाँ रहेछ र ? उनले भने ,’सफल हुँदै थिए र एक दिन त आउला जब हाम्रो माया व्यक्त होला भन्ने लागेको थियो तर त्यो सम्भव भएन ।’ हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ ।  कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साही गर्नु सही थिएन ।’

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news