हिन्दु दर्शन, मार्क्सवाद र राष्ट्रवादको मीमांसा

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:४० | Aadil Times                  


साहित्यकार तथा चिन्तक राप्रउ पोखरेलको सद्य प्रकाशित पुस्तक ‘विचार मीमांसा’ लाई उपशीर्षकमा ‘दर्शन, साहित्य, समाज र संस्कृति’ भनिएको छ । यो उनको दोस्रो कृति हो ।

हिलो ‘धर्मनिरपेक्षता कि धार्मिक विस्तारवाद’ २०६३ सालको माघमा प्रकाशित भएको थियो । त्यो पुस्तक मूलतः नेपालमा भइरहेको धर्मपरिवर्तन र इसाईकरणको विपक्षमा थियो । त्यहाँ संगृहीत केही लेखहरू २०५६ सालको आसपासमा प्रकाशित भइसकेका हुन् तापनि पुस्तकको अन्तिम काया भने २०६३ साल जेठ ४ गते पुनर्जर्वीित प्रतिनिधिसभाले ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ’ भन्ने घोषणा गरेपछिको प्रतिक्रियामा बनेको थियो ।

पहिलो पुस्तकको तुलनामा यो दोस्रो पुस्तकमा धेरै विषय समेटिएका छन् । मूल शीर्षकको पछिल्लो शब्द ‘मीमांसा’ ले लेखकको पूर्वीय दर्शनप्रति विशेष अनुराग र झुकावलाई स्पष्ट पार्छ । भारतवर्षमा प्राचीन समयदेखि चिन्तनका छवटा प्रणाली प्रचलित छन् । यी प्रणालीलाई षट्दर्शन भनिन्छ । कतै कतै षड्दर्शन भनेको पनि पाइन्छ जसभित्र गौतमद्वारा प्रवर्तित न्याय, कणादद्वारा विकसित वैशेषिक, कपिलको सांख्य, पतञ्जलिद्वारा प्रवर्तित योग, जैमिनिद्वारा विकसित पूर्व मीमांसा र वादरायण आविष्कृत वेदान्त रहेका छन् ।

वेदान्तलाई उत्तर मीमांसा पनि भनिन्छ । यी सबै प्रणाली वेदलाई मान्ने आस्तिक दर्शन हुन् । यसबाहेक भारतवर्षमा वेदलाई प्रमाण नमान्ने अरू छवटा नास्तिक दर्शन पनि विकास भएका छन् । यिनमा चार्बाक, जैन, वैभाषिक, सौतान्त्रिक, योगाचार र शून्यवाद रहेका छन् । यीमध्येका पछिल्ला चारवटालाई बौद्ध दर्शनकै भाग मान्ने चिन्तकहरू पनि छन् । राप्रउ पोखरेलले दुवै विचार प्रणालीमध्ये केहीबाट धेरै र केहीबाट थोरै प्रभाव ग्रहण गरेका छन् ।

‘विचार मीमांसा’ भित्र धर्म–संस्कृति, व्यक्ति—व्यक्तित्व, साहित्य, विमर्श र विविध गरी पाँच खण्ड छन् । यीमध्ये धर्म–संस्कृति खण्ड समग्र पुस्तकको विचार र मीमांसाको आद्य बीज एवं प्रस्थानविन्दु हो । यही खण्डमा धर्मका शास्त्रोक्त वचन, परिभाषा, उद्भव र विकास, अर्थ तथा उपयोगिता, वर्ण र वर्ग असमानता, सत्ता र धर्मको सम्बन्ध आदि चिन्तन र विश्लेषणपरक निबन्ध छन् । हरेक धर्म काल र सत्तासापेक्ष हुन्छ, एक युगको धर्म अर्को युगको धर्म नहुन पनि सक्छ यद्यपि सत्य, मानवतावाद र सामाजिक न्यायबिना धर्म धर्म बन्दैन भन्नेमा लेखक स्पष्ट छन् । महाभारत, पुराण र पूर्वीय वाङमयको अध्ययन र तिनको सृजनात्मक प्रभावको आधारमा लेखिएका यी रचनामा कार्ल मार्क्सको इतिहासको भौतिकवादी पद्धति र दर्शनको प्रभावसमेत मिसिएर आएको छ ।

‘महाभारतका प्रमुख पात्र र धर्म’ शीर्षकको निबन्ध उच्चकोटीको बौद्धिक विश्लेषणले युक्त छ । धर्म समाज र सत्तासाक्षेप हुन्छ भन्ने सार तथा निष्कर्ष यसैमा छ । यो खण्डका अरू लेख ‘धर्म : उद्भव र विकास’, ‘बुद्ध धर्मको ह्रास ः भ्रम र यथार्थ’, ‘राधाकृष्ण’, ‘राष्ट्रिय चाड तिहार’ शीर्षकका निबन्धहरू पनि हाम्रो चिन्तन परम्परामा महत्त्वपूर्ण स्थान राख्ने रचना हुन् ।

दोस्रो खण्डका सबै लेखहरूमा हाम्रो राष्ट्रिय जीवन र इतिहासका स्वनामधन्य व्यक्तित्व र तिनका योगदान वा कमीहरूको समालोचना छ । ‘वि.प्र. कोइरालाका राजनीतिक घुम्तीहरू’ बारे सम्यक् र वस्तुवादी समालोचना गरिएको छ । यसमा कोइरालाको राष्ट्रवादको विकासको कालक्रमिकताको तथ्यपूर्ण वर्णन छ । जीवनको पहिलो भाग भारतमा रहँदा कोइरालाका सीमा र अपूर्णताबारे पूर्वाग्रह नराखी विवेचना गरिएको छ । पहिलो कालमा भारतपरस्त देखिने कोइराला पछिल्लो कालमा देशभक्त भएको वर्णन छ ।

यस्तै ‘वि.प्र. कोइरालाको अर्थशास्त्र’ शीर्षकको निबन्ध अर्को अनुपम समालोचना हो जसले कोइरालाका अन्धभक्तहरूलाई अन्धभक्तिबाट मुक्त हुन प्रेरित गर्छ र प्रजातान्त्रिक समाजवादको अर्थशास्त्र पहिल्याउन सुझाव दिन्छ । ‘पृथ्वीनारायण शाह र नेपाली भाषा’, ‘टंकप्रसाद आचार्य’, ‘मदनमणि दीक्षित र उनको पत्रकारिता’ र ‘योगी नरहरिनाथ’ यस्ता ज्ञानप्रदायक रचना हुन् जसलाई नपढी राप्रउ पोखरेलको राजनीतिक विचारको भ्रूण खुट्याउन सम्भव हुँदैन ।

राप्रउ पोखरेल सनातनी राष्ट्रवादका समर्थक हुन् । उनको यही अन्तर्यको राष्ट्रवादको स्थापत्यमा यी निबन्धहरूको तर्क तथा वर्णित व्यक्तित्वहरूको नायकत्व स्थापना भएको छ । जसरी पहिलो खण्डले दार्शनिक मीमांसामा लेखकको आफ्नो दृष्टिविन्दुको थातथलोको परिचय दिन्छ, त्यसरी नै दोस्रो खण्डले लेखकको राजनीतिक वैचारिकताको उद्गमको गर्भस्थान दर्साउँछ ।

राणाकालदेखि नै राष्ट्रिय मुक्तिको संकथनमा विभिन्न पाठशाला विकसित हुँदै आएका छन् । एकथरी छन् जसले मुलुकको अग्रगामी रूपान्तरणमा जनताको पहललाई निर्णायक ठान्दाठान्दै पनि छिमेकी र विश्वको सकारात्मक सहयोग अनुचित हुँदैन भन्ने मत राख्छन् । तर अर्काथरी पनि छन् जसले देशको मुक्ति र स्वतन्त्रता विदेशीको सहयोगमा होइन, आफ्नै बल र शौर्यमा मात्र हुनुपर्छ भन्ने मान्यता राख्छन् । राणाकालमा कवि गोपालप्रसाद रिमालको राष्ट्रिय मुक्ति आन्दोलनको दृष्टिकोण यही पछिल्लो प्रकारको थियो । राप्रउ पोखरेल पनि यही कोटीका हुन् । नेपाल स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्र भएकाले यसको राजकीय व्यवहारमा बाह्य शक्तिको हस्तक्षेप हुनु हुँदैन भन्नेमा उनी स्पस्ट छन् । यसमा सबै देशभक्त नेपालीको समर्थन रहन्छ ।

तर, अग्रगामी परिवर्तनको प्रश्नमा राष्ट्रिय स्वाभिमानमा आँच नपुग्ने गरी विश्वबन्धुहरूको सहयोग र समर्थन लिने विषयमा संकीर्णता व्यावहारिक होइन । यस किसिमको विशुद्धतावादले अग्रगमन होइन, पश्चगमनलाई सेवा पुर्‍याउँछ । अर्को कुरा, यस्तो मतवादले हामीमा सात सालदेखियताका सबै परिवर्तन र रूपान्तरणहरू नेपाली जनताले होइन, विदेशीको सहयोगको कारणले आएका हुन् भन्ने अतिवादी चिन्तनको खतरा पनि निम्त्याउन सक्छ ।

सनातनी राष्ट्रवादको मोहले गर्दा लेखक पोखरेल पृथ्वीनारायण शाह, योगी नरहरिनाथ र टंकप्रसाद आचार्यका योगदानहरूको मूल्यांकन गर्दा अर्को अतितिर पुगेका त होइनन् भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक बनेको छ यहाँ । पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग हालेको र त्यही कार्यले नेपाली भाषा राष्ट्रिय सम्पर्क भाषा बनेको भन्ने उनको ठहरलाई नेपालको बसाइँसराइको इतिहासले समर्थन गर्दैन । पृथ्वीनारायण शाहको राज्यविस्तारको अभियानभन्दा अघि नै पश्चिमबाट पूर्वतिर खस नेपालीहरू आफ्नो भाषा लिएर पुगिसकेको तथ्य थुप्रै अध्ययनले देखाइसकेका छन् । हामी मूलपानीका ढकालका पुर्खाहरू पनि एकीकरणअघि आफ्नो भाषासहित यहाँ आएका थिए । यही विशेषता नेपालको पूर्वी पहाडहरूमा पनि पाइन्छ ।

‘पृथ्वीनारायण शाह र नेपाली भाषा’ शीर्षकको यो रचना लेखकको पहिलो पुस्तक ‘धर्मनिरपेक्षता कि धार्मिक विस्तारवाद’ मा पनि समावेस थियो । यसलाई फेरि यो नयाँ पुस्तकमा स्थान दिनुले यस विषयमाथि लेखकले इतिहाससम्मत नभई भावनात्मक आशक्ति राखेको सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै टंकप्रसाद आचार्य र योगी नरहरिनाथले पञ्चायतको पूवार्द्धमा राजाप्रति अत्यधिक नरम र प्रजातान्त्रिक आन्दोलनप्रति लगभग निष्क्रियता दर्साएको तथ्यले उनीहरूप्रति लेखकको अतिमोह रहेको दृष्टान्त स्पष्ट हुन्छ ।

साहित्य खण्डमा रहेको ‘महाकवि विद्यापति र नेपाल’ गैरमैथिलीभाषी नेपाली पाठकका लागि राम्रो खुराक हो । विद्यापतिको शौर्य र रचनात्मक महत्त्वबारे निकै मिहिनेत गरी लेखिएको छ । यस्तै ‘महाकवि पुश्किन’, ‘गोन विथ द विन्ड’, ‘महाकवि देवकोटाको ऐतिहासिक भाषण’ शीर्षका निबन्धहरू सूचना, विश्लेषण र मनोरम वृत्तान्तले परिपूर्ण छन् ।

खण्ड चारको विमर्शमा चारवटा लेख संगृहीत छन् । ‘मार्क्सवाद, समाज र साहित्य’ शीर्षकको रचनामा वामपन्थी लेखक शक्ति लम्सालको यही नामको पुस्तकको विवेचना गरिएको छ । यो मूल्यांकन निकै सान्दर्भिक र सही छ । विशेष गरी मार्क्सवादी सौन्दर्य चिन्तनको नाम जपेर कठमुल्लावादी—जडसूत्रवादी विचारतिर सती जानेहरूका लागि यो लेख राम्रो बौद्धिक प्रतिवाद हो । स्टालिन, ज्दानोभ र माओका सौन्दर्यशास्त्रविहीन मतको चिरफार छ यहाँ । ‘तराई र थारू’, यो खण्डको अर्को चर्चायोग्य आलेख हो । यसमा लेखकले मधेसी र थारू एक होइनन्, अहिलेको मधेस मनुस्मृतिले मधेस भनेर परिभाषित गरेको भूगोलभित्र पर्दैन, शाक्यजन र बुद्ध थारू थिए, थारूहरू पहाडबाट झरेका किराँत हुन्, सेनामा मधेसीहरूको समूहगत प्रवेश राष्ट्रियताको दृष्टिले युक्तिसंगत होइन आदि मत व्यक्त गरेका छन् । नेपाली चिन्तनधारामा यी विषयको पक्ष वा विपक्षमा अनेकन् तर्क, बहस र समीक्षा भइसकेका छन् ।

‘वैदिक व्यवस्थामा राजा’ शीर्षकको लेखमा न्यायप्रेमी राजाको विशेषताको वर्णन छ । यसमा महाभारत, ऐतरेय ब्राह्मण, मनुस्मृति, भागवत पुराण आदिका विचारको आलोकमा आदर्श राजाको चरित्र कस्तो हुनुपर्छ भन्ने मान्यता स्थापना गरिएको छ । गणतन्त्र स्थापना भइसकेको अवस्थामा त्यस्तो प्रकारको राजतन्त्रको विवेचना किन भन्ने प्रश्न पनि उठ्न सक्छ यहाँ, तर यो नियोजित नभएर इप्सास्मृति मात्र पनि हुन सक्छ भन्नेमा सन्देह नहुन सक्छ । यस्तै, ‘स्त्री पुरुष सम्बन्ध’ नामक प्रबन्धमा पनि शास्त्रीय साहित्यले स्थापना गरेका मूल्य र मानकका आधारमा नारी–पुरुष समानातालाई पर्गेल्ने प्रयास भएको छ । यहाँ लेखक आधुनिक वा उत्तरआधुनिक नारीवादको खुला विरोधमा देखिएका छन् ।

खण्ड पाँचको ‘खस जातिको इतिहास’ विद्वान् प्राज्ञ बालकृष्ण पोखरेलको यही नाममा प्रकाशित किताबको बृहत् पर्यावलोकन हो । यसलाई लामो ढाँचाको पुस्तक समीक्षाभन्दा बेठीक हुन्न । त्यस्तै यहाँ लघु कायामा अर्को समीक्षा पनि छ– ‘असहमतिमा सहमति’ । यो लेख लेखक सौरभको केही समयअघि प्रकाशित चर्चित पुस्तकको विवेचना हो । यो समीक्षाबाट लेखकले आफू र सौरभ मोटामोटी रूपमा एकै पाठशालाका हौं भनेर पाठकलाई सन्देश दिएका छन् । ‘नेपाली संगीतको यात्रा’ चाहिँ अलग विधामा गरिएको एउटा यस्तो टिपोट हो जसले अरू धेरै सूचना, विश्लेषण र व्यापकताको माग गर्छ ।

समग्रमा लेखकले विचार मीमांसाको प्राचीन सन्दर्भलाई उद्धृत गर्दै समकालीन नेपाल र विश्वमा चलेका बहस र मान्यतामा आफूलाई उभ्याउने काम गरेका छन् । यस दृष्टिले उनी नेपालका त्यस्ता बौद्धिक विश्लेषकहरूको कोटीमा पर्छन् जो राष्ट्रवादको सनातन दर्शन र मान्यता नै राष्ट्रिय एकताको आधार हो भन्ने वकालत गर्छन् । यो पाठशालाका विद्वान्हरू नेपालको बहुराष्ट्रिय, बहुसांस्कृतिक र बहुजातीय स्वभावलाई मान्न इन्कार गर्छन् र धर्मनिरपेक्षतालाई खारेज गर्दै नेपाल हिन्दु राष्ट्र नै हुनुपर्ने मतलाई मलजल गर्छन् । जबकि जबरजस्ती धर्म परिवर्तनबारे लेखकका मत सर्वथा समर्थनयोग्य छन् । यो संवेनशील राष्ट्रिय मुद्दा हो जसको निदान सक्षम राज्यको लागि जटिल छैन । तर यो मुद्दालाई आधार बनाएर धर्मनिरपेक्षतामाथि प्रहार गर्नुचाहिँ कदापि युक्तिसंगत होइन ।

सनातनी राष्ट्रवादप्रति सम्मोहनका कारण लेखक पोखरेल राजा महेन्द्रप्रति केही बढी नै सकारात्मक छन्, फलस्वरूप उनी भिन्नभिन्न राष्ट्रियताहरू र सांस्कृतिक अनेकतामा एकता खोज्न सकिन्छ भन्ने प्रगतिशील र पुनर्जागृत राष्ट्रवादी विचारमा सहमत हुन सकेका छैनन् । त्यस्तै, लेखकले बुद्ध धर्मलाई हिन्दु धर्मकै एउटा धारा मान्नुमा हिन्दु दर्शनप्रतिको अतिरिक्त अनुरागकै परिणाम मान्न सकिन्छ । धार्मिक सहिष्णुता नेपाली समाजको मौलिक विशेषता हो तर हिन्दु र बुद्ध धर्मका मूल्य, मान्यता र परम्पराहरूलाई एउटै डालोमा मिसमास गर्दा हाम्रो समाजविकासको अनुक्रम र ऐतिहास तथ्यको गलत व्याख्या हुन पुगेको छ ।

पहिलो पुस्तक छापिएको १४ वर्षपछि अर्थात् २०७७ साल माघ महिनामा ‘विचार मीमांसा’ प्रकाशित भयो तर एक पुस्तकदेखि अर्को पुस्तकसम्मको समयको अन्तराल जेजस्तो रहे पनि यो कृति गत वर्ष बजारमा आएका पुस्तकहरूको हूलमा बेग्लै वैचारिक र सौन्दर्यशास्त्रीय महत्त्व बोकेर आएको कुरामा भने कुनै विवाद छैन । पुस्तकको अर्को महत्त्वपूर्ण गहना हो— विद्वान् समाजवादी चिन्तक प्रदीप गिरिको भूमिका, जसले पाठकहरूलाई उत्तिकै उचाइको रोमाञ्चकारी पठन अनुभव प्रदान गर्छ भन्नेमा म विश्वस्त छु ।


सम्बन्धित खबर