हुम्लामा पहिरोले २४ घरपरिवार विस्थापित

Logo ७ असार २०७८, सोमबार १७:२८ | Aadil Times                  

अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ ।

सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिराले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news