बिहीबार २०, फाल्गुन २०७७ Thu,04 Mar 2021

लमजुङको त्रिवेणी कप फुटवल प्रतियोगिता यसबर्ष स्थगित



बिहीबार २३ , पुष २०७७

लमजुङको बेंसीसहरस्थित सहजी खेलमैदानमा हरेक बर्ष पुस १२ गतेदेखि आयोजना हुने त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिता यसबर्षलाई स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमका कारण जिल्लाकै सर्वाधिक राशी मानिएको त्रिवेणी कप फुटवल प्रतियोगिता यसबर्षका लागि स्थगित गरिएको आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ । क्लबका अध्यक्ष सिजन श्रेष्ठका अनुसार यसपटक २९ औं त्रिवेणी कप सञ्चालन गर्नुपर्ने भएपनि कोरोना संक्रमण जोखिमले सञ्चालन नगर्ने निर्णय गरिएको हो । प्रतियोगिता जिल्ला र जिल्ला बाहिरका खेलाडी तथा दशर्कहरु आउने र भिडभाड हुने भएकाले भिडभाडमा कोरोना संक्रमण जोखिम हुने हुँदा स्थगित गरिएको हो । गतबर्ष यो समयमा त्रिवेणी कपका लागि अधिकांश तयारी भइसकेको हुन्थ्यो । त्रिवेणी कपको बारेमा पत्रकार भेटघाट तथा प्रचारप्रसार भइसकेको हुन्थ्यो । यो बर्ष कोभिडले प्रतियोगिता गर्न नपाएकाले खेलाडी तथा दशर्कप्रति क्लबले क्षमा याचना गरेको छ । प्रतियोगिता आयोजना गरेको करीब ३ दशकको अवधिमा पहिलोपटक कोरोना संक्रमण जोखिमका कारण रोक्नु परेको क्लवले जनाएको छ । प्रतियोगितामा कूल पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ राखिँदै आएको छ । प्रथम हुनेलाई ३ लाख रुपियाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र, द्धितीय हुनेलाई १ लाख ५० हजार रुपियाँ, रजतपदक, प्रमाणपत्रको व्यवस्था गरिँदै आएको थियो । सेमिफाइनल उपविजेता २ टीमलाई ५०÷५० हजार रुपियाँ प्रदान गरिँदै आएको क्लबले जनाएको छ । त्रिवेणी कपमा लमजुङका अलावा छिमेकी जिल्लाहरु मनाङ, गोरखा, तनहुँ, कास्की साथै काठमाडौं, चितवन, नवलपुर लगायत ठाउँबाट खेलाडी टीम सहभागि हुने गरेका छन् ।

Featured News

Advertisement