लघुकथा : बुवाको मुख हेर्ने दिन

Logo १९ भाद्र २०७८, शनिबार १२:१५ | Aadil Times                  

–तारा श्रेष्ठ

आज धनभक्त बा निकै प्रफुल्ल देखिन्थे । उनी बिहानै नुहाइधुवाइ सकेर मेचमा बसेर अखबार पढ्दै थिए । हातमा टीकाको थाली, फलफूल, मिठाई अनि तात्तातो चिया लिएर बुहारी सरला आएर भनिन्, “बुवा दर्शन गरेँ । आज बुवाको मुख हेर्ने दिन । यी हेर्नुहोस् त, हजुरलाई मनपर्ने खानेकुरा ल्याएकी छु ।”
कपाल मिलाउँदै छोरो सबिनले पनि आएर बुवाका गोडामा ढोगिदियो ।
“चिरञ्जीवी भएस्, बाबु ।”, बाबुले छोरालाई आशिर्वाद दिए ।
सधैँ व्यापारको चटारो र पैसा मात्र कमाउने लालसाले बुवालाई सञ्चो बिसञ्चाेसम्म सोध्न नभ्याउने छोराबुहारीको तामझाम देखेर धनभक्त अचम्मित भए ।

एक छिनपछि अस्ट्रेलियाबाट छोरीले भिडियोकल गरिन् । बा निकै रमाएर गफिए । ‘सबैले मुख हेरे, बुवाभन्दा उनले सबैलाई सधैँ सुखी र खुसी हुनू भन्दै आशिर्वाद दिंदै गए । लामो समयदेखि बिधुर भएर एक्लै बनेका उनी आज खुसी देखिन्थे । त्यसै बेला महंगा लुगा, कपडा, फलफूल, मिठाई र मरमसला लिएर काञ्छा छोराबुहारी पनि टुप्लुक्क देखा परे । उनीहरूले पनि जेठा छोराबुहारी सबिन र सरलालेजस्तै माया, ममता र आदरभाव दर्शाए । धनभक्त बा यी सबै कुरा हेरी दङ्ग परेर मुस्काए । छोराबुहारी र छोरीज्वाइँ पनि बुवाको प्रसन्न मुख हेरेर आनन्दित देखिए । धनभक्त बालाई भने आफ्ना वरिपरि रहेका मिठा मिठा परिकार, फलफूल र मिठाईले टुलुटुलु हेरेर गिज्याइरहेकोजस्तो लाग्यो ।

सबै पक्षबाट सम्पन्न भए पनि अरू बेला समयमा चियासम्म दिन नभ्याउने छोराबुहारीको ताल देखेर धनभक्त बाले ख्वाक्क खोकेर बर्बराए, “यसरी वर्षको एक दिन यति धेरै खानेकुराको चाङ र मान पाउनुभन्दा सधैँभरि समयमा खाना र मिठो बचन सुन्न पाएको भए मेरो मन कत्ति खुसी हुन्थ्यो होला ?”

२०७८/०५/१८
बिराटनगर–६

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news