जनप्रतिनिधिहरुको दवावपछि हुलाकी राजमार्गको काम सुरु हुँदै

Aadil Times 1+ समाचार ( )
२६ वैशाख २०८०

जनप्रतिनिधिहरुको चर्को दवाव पछि हुलाकी राजमार्गको काम अघि बढ्ने भएको छ । संघीय, प्रदेश र स्थानीयतहका जनप्रतिनिधिहरुको चर्को दवावपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्र्तगत मोरङ खण्डमा रोकीएको निर्माण कार्य पुनः सुरु हुने भएको हो ।

रोकिएको काम आगामी वैशाख २८ गतेदेखि शुरु गर्ने निर्माण व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर क्षेत्रमा गुणस्तरीय निर्माण गरि पुनः जेठ ७ गते समीक्षा बैठक गर्ने सहमती भएको छ ।

मोरङको बेतौनादेखि नयाँ वजार छाला कारखानासम्मको १२ किलोमिटर सडक द्रुत रुपमा निर्माण शुरु गर्ने गजुरमुखी कन्सट्रक्शनका प्रमुख सन्तोष गौतमले जनाए ।

यस्तै छाला कारखानादेखि विराटनगरको सिंगिया खोलासम्म छ किलोमिटर निर्माणमा अव कुनै विलम्व हुने नदिने श्रेष्ठ कन्ट्रक्शनका शुभाष श्रेष्ठले जानकारी दिए ।

यस्तै पूर्वपश्चिम राजमार्गको पथरीदेखि रंगेलीको भारतीय सीमासम्मका ३० किलोमिटर लिङ्क सडकमा निर्माण कुनै किसिमको ढिलाई नगर्ने कान्छाराम कन्ट्रक्शनका प्रतिनिधि दिपक थिङ्गले बताए ।

हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले निर्माण कम्पनीहरुले कामको विल पेश गरेकाको आधारमा रकम भुक्तानीको कुनै समस्या नरहेको जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हुलाकी सडक निर्माण रोकिएका कारण जनताले धेरै दुःख एवं सास्ती भोग्नु परेकोले अविलम्व निर्माण शुरु गर्न निर्देशन दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललले निर्माणको गुणस्तरीय मूल्याङकन समीक्षा बैठकमा गरिन भएकाले सोही अनुसार कार्य गर्न ठेकेदारहरुलाई निर्देशन दिए ।

कार्यक्रममा रंगेली, रतुवामाई नगरपालिका, कानेपोखरी, सुनिवर्षी ,कटहरी, धनपालथान प्रमुखहरु क्रमशःदिलिपकुमार अग्रवाल,नागेश्वर प्रसाद सिंह,राजमती इङ्गनाम,श्यामप्रसाद राजवंशी,देवराज चौधरी,जिवछप्रसाद गच्छदारले तोकिएको समयमा निर्माण कार्य शुरु गर्न आग्रह गर्दै नभए जनताको साथमा आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह,जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, हुलाकी सडक आयोजनाका कर्मचारीहरु एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया