पीएनजीविरुद्ध आसिफको शानदार शतक

Aadil Times 1+ समाचार ( )
२४ फाल्गुन २०७९

विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन् । यो उनको करिअरको पहिलो शतक हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आसिफले १ सय १ बलमा १० चौका र २ छक्काको मद्दतमा सय रन पुरा गरे ।

आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरेका थिए । उनले शतक पुरा गर्दा कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे ।

एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि ओडीआईमा शतक बनाउने पाँचौँ खेलाडी बने ।

यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए ।

सन् २०२१मा सेप्टेम्बर ७ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ इनिङ खेलेका छन् ।

जारी खेलमा शतक बनाएका आसिफ नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन् ।

तेस्रोमा ८ सय ५६ रन सहित ज्ञानेन्द्र मल्ल रहँदा चौथोमा कुशल भुर्तेल र पाँचौँमा आरिफ शेख छन् ।

प्रतिक्रिया