विराटनगर । मोरङ–५ प्रदेश सभा ‘ख’ का उम्मेदवार अमृत अर्यालले जनताका माँझमा रहेर जनताका समस्यासित साक्षात्कार गरेर काम गर्ने भएकाले मोरङ क्षेत्र नं ५ का जनता अमृत अर्यालको विकास प्रेमी योजना प्रति आकर्षित भएका छन् ।
>
कांग्रेसका केन्द्रीय सदस्य र भावी मुख्यमन्त्रीका रुपमा हेरिएका अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा भएका कार्यक्रमलाई संवोधन गर्दै भने, ‘म हिजो प्रतिनिधिसभामा हारेर पनि जनताका माँझमा थिए, जनताका हरेक समस्या हल गर्नेतिर लागे, सडक, नाला, एकीकृत विकास, शिक्षा, डुबान समस्या, रेल्वे ट्रयाक निर्माणदेखि हरेक काममा सक्रिय थिए’ उनले भने, ‘भोट माग्नका लागि मात्र आउने नेता म होइन, हरेक समय म जनताको माँझमा छु ।’>
कांग्रेसले अवसर पाउँदा धेरै काम गरेको उल्लेख गर्दै सीमान्त क्षेत्रमा रहेको शिक्षा, रोजगारी, नागरिकतालगायतका समस्याको एकीकृत हल गर्न आफु लागिपर्ने बताए । उनले भने, ‘सीमान्त क्षेत्रमा धेरैले नागरिकताको समस्या उठाउनुभएको छ, हामी विजयी भएपछि समग्र अध्ययन गरेर बञ्चितलाई नागरिकता दिने प्रक्रिया थाल्ने छौं, कृषि क्षेत्रमा देखिएका समस्या हल गर्ने छौं ।’>
विराटनगरदेखि रंगेलीसम्म रहेको क्षेत्र ५ को विकासमा भेद्भाव गरिएको स्वीकार उनले गरे । ‘पक्कै पनि भेद्भाव भएको छ, हामीले जितेर गएपछि त्यस्तो हुँदैन, एक भएर हामी सीमान्त क्षेत्रको विकासमा लाग्ने छौं’ अर्यालले भने, ‘यो क्षेत्रको सम्पूर्ण समस्या हल गर्ने जिम्मेवारी मेरो भयो, आउँदो निर्वाचनमा मलाई मतदाताले विश्वास गरेर पठाउनुहोस् म कुनै पनि हालतमा विश्वासघात हुने काम गर्ने छैन, जनताकै माँझमा रहेर विकास निर्माण र समस्या समाधानको काम गर्ने छु, म काम गर्न आएको हुँ, पद ओगटेर ठूलो पल्टिने मेरो बानी छैन ।’>>