माओवादी उम्मेदवारलाई प्रश्न गर्ने विद्यार्थी कुटिए

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अमनलाल मोदीलाई ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयोरु’ भनेर प्रश्न गर्ने विद्यार्थी कुटिएका छन्।

सार्वजनिक कार्यक्रममा नेकपा ( माओवादी केन्द्र )का नेतालाई प्रश्न गर्ने एक युवक दलका कार्यकर्ताबाट पिटिएका हुन्। कुटपिटपछि चुनावी सभा बिथोलियो। मोरङको कटहरी(३, चम्राहीमा पढाइ भइरहेको मदरसामा बुधबार आयोजित चुनावी सभामा उम्मेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई नेताका समर्थकले पिटेका थिए। सत्तापक्षीय गठबन्धनको सभामा उम्मेदवार अमनलाल मोदीले मन्तव्य राखेपछि साफीले ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयो रु’ प्रश्न गरे।

कुटिएपछि माओवादीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार मोदीले चिया खान र गफ गर्न आग्रह गर्दा साफीले अस्वीकार गरे। विज्ञान सङ्कायमा स्नातकको पढाइको तयारी गर्दै गरेका उनले प्रश्न गर्दा कुटाइ खाइन्छ भने पुनः प्रश्न थप्ने बताए।

साफीले प्रदेश सभाका उम्मेदवार भीम पराजुलीलाई पनि पाँच वर्षमा विराटनगरको मेयर भएर के के काम गर्नुभयो भन्ने प्रश्न गरेका थिए। माओवादी केन्द्रका केन्द्रीय सदस्य मोदी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीलाई पुनः अर्को कार्यक्रममा साफीले प्रश्न गर्ने बताएका छन्। बिहीबार कटहरी(२ मा हुने कार्यक्रममा उनीहरूलाई पुनः प्रश्न गर्ने साफीले बताए।

कुटपिटपछि गठबन्धनका कार्यकर्ताले साफीलाई उल्टै प्रहरीमा बुझाएका थिए। यद्यपि, उनलाई नियन्त्रणमा नराखी छाडिएको मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। नेता मोदीका स्वकीय सचिव ताजिम अन्सारीले मदरसामा भएको अनौपचारिक कार्यक्रममा आएर अनावश्यक प्रश्न गरेर कार्यक्रम बिथोल्ने युवालाई स्थानीयले प्रहरीको जिम्मा लगाएको भए पनि कुटपिट नभएको दाबी गरे।

प्रतिक्रिया