नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता : गृहमन्त्री

Aadil Times 1+ समाचार ( )
३ जेठ २०८०

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्रीले दोषीलाई कारबाही हुने बताएका हुन् ।

"नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ," उनले भने । 

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने पनि बताए । उनले कुनै पनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाब तथा प्रभावबाट सरकार प्रभावित नहुने दाबी गरे । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको थियो ।

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए । यस अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

प्रतिक्रिया