आफ्नै छोरीलाई जंगलमा फाल्ने बाबु पक्राउ

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

आफ्नै नवजात छोरीलाई जंगलमा फाल्ने बाबुलाई पक्राउ गरी सुनसरी प्रहरीले मुद्दा दर्ता गरेको छ ।

नवजात शिशुलाई जंगलमा लगेर फाल्ने सुनसरीको दुहबी नगरपालिका–१० का ३३ वर्षीय अमित चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीकी ३० वर्षकी उनकी श्रीमती बिन्दु चौधरीले माघ ४ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्माएको शिशुलाई माघ ६ गते जिवितै अवस्थामा बराहक्षेत्र नगरपालिका–२ को चारकोसे जंगलमा फालेका थिए । घटनामा संलग्न अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको छ । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीको भने घटनामा संलग्नता नदेखिएकाले उनलाई प्रहरीले छाडिदिएको छ ।

जंगलमा गोठालाले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए।

शिशुलाई आमा बिन्दाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए । नवजात शिशुलाई हत्या गर्ने उद्देश्यले जंगलमा फालिएको थियो ।

प्रतिक्रिया