चितवन-२ बाट रवि लामिछानेले उपनिर्वाचनका लागि मनोनयन दर्ता गराए

Aadil Times 1+ समाचार ( )
२० चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनका लागि चितवन-२ बाट मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका छन् ।

‘मैले देखेको छैन कानुनी उल्झन । कसरी हुन्छ कानुनी उल्झन र यो देशमा कसैलाई मुद्दा चलाउन मन लाग्यो भने तपाईँको मैले पाँच दिन स्टडी गरेभने कम्तिमा एक सय वटा मुद्दा चल्छ । सक्नैपर्छ भनेर लागिपर्यो भने थाहा छैन मलाई,’-उनले भने ।

चितवन- २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी युवा पुस्ताको प्रतिनिधित्व र देशको समृद्धि र सुशासनका लागि भएको उनले बताए ।

देशका विभिन्न सूचकहरुलाई समृद्ध देशको सूचकमा परिवर्तन गर्नका लागि आफूले फेरि पनि उम्मेदवारी दिएको उनको भनाई छ ।

गत आम निर्वाचनमा भारी मतान्तरसहित विजयी भएका लामिछाने नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएको थियो ।

उनको सांसद पद खारेजीपछि अहिले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चितवन– २ को उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित रहेको छ ।

प्रतिक्रिया