(ओलीसँग सहकार्य हुँदैन, कांग्रेससँगको गठबन्धन नै कायम रहन्छ) प्रचण्डले भने

Aadil Times 1+ समाचार ( )
१० मंगशिर २०७९


 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने दाबी गरेका छन् ।



उनले आफूले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग सहकार्य नगर्ने पनि स्पष्ट पारेका छन् । उनले भने,”अहिले यही गठबन्धन कायम रहन्छ । म अर्को गठबन्धन बनाउने पक्षमा छैन् । एमालेसँग सहकार्य हुँदैन् । हाम्रै गठबन्धनको सरकार बन्छ ।”


निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सरकार गठनको लागि सहकार्यको प्रस्ताव गरेका थिए । दाहालले भने निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी रहेकोले अहिले नै कुनै ठोस निर्णय नलिने भन्दै निर्वाचनको सबै परिणाम आएपछि छलफल गर्न सकिने जवाफ दिएका थिए ।


हिजोमात्रै दाहालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । सो भेटमा पनि सत्ता सहकार्यबारे छलफल भएको थियो । पछिल्लो समय सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे बहस सुरु भएको छ ।


प्रचण्डले भने कांग्रेस ठूलो दल भएकोले स्वभाविक रुपमा कांग्रेसले नै सरकारको नेतृत्व गर्दा आपत्ति नहुने धारणा राखेका छन् । 

प्रतिक्रिया