गुरुकुलका १० विद्यार्थी दीक्षित ‘साँढे’ मञ्चन

Aadil Times 1+ समाचार ( )
१५ फाल्गुन २०७९

आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्षे अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले २०७६ देखि कक्षा सञ्चालन गरेको थियो ।

अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभूत तत्वहरु, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण लिई विद्यार्थीहरुले विभिन्न १० वटा नाटकमा काम गरेका थिए । ७ नाट्य कार्यशाला, २ राष्ट्रिय तथा एक अन्तर्राष्ट्रिय र २ वटा विद्यालय नाटक महोत्सवमा विभिन्न जिम्मेवारी लिएर काम गरेका उनीहरुले अनेकौं सडक नाटकमा पनि अभिनय गरेका थिए । सोमबार दिक्षित हुनेहरुमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, अशोक गौतम, रविन चिमरिया, सागर विश्वास, समीक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी र राजेश ठाकुर छन् ।

चार दशक बढी समयदेखि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखा मार्फत् आवासीय कक्षा सञ्चालन गरेर ६० भन्दा धेरै रंगकर्मी उत्पादन गरिसकेको छ ।

गुरुकुलले सोमबारदेखि ‘साँढे’ मञ्चन शुरु गरेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले बताए । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ । २०० वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समीक्षा दाहाल, रविन चिमरिया, प्रदिप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् । यस्तै दिक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया