रवि लामिछानेले भने -मैले सीधा कुरा नगरेको धेरै भएछ

Aadil Times 1+ समाचार ( )
२१ माघ २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । रिक्त गृहमन्त्री पूर्तिको विषयले सत्तागठबन्धनमा समेत खटपट आइरहेको बेला लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका छन् । गृहकै अडानमा रहेको उक्त पार्टीले प्रधानमन्त्रीको नयाँ प्रस्तावमा आवश्यक छलफल तथा निर्णय गर्न  केहीबेरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् । उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।

म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सीधा कुरा नगरेको धेरै भएछ’, रविले लेखेका छन् ।

बिहीबार पनि उनले आफू अभिमन्यु नभएको भन्दै मौनता आज सम्मका लागि मात्र भएको चेतावनीपूर्ण स्टाटस लेखेका थिए ।

प्रतिक्रिया