जब पानाहरू छरपष्टिए – आत्मवृत्तान्त – १ 

Logo १४ श्रावण २०७८, बिहीबार २१:०२ | Aadil Times                  

zakir-hussain

जब पानाहरू छरपष्टिए – आत्मवृत्तान्त – १

प्रतिस्पर्धा ।
प्रथम हुने उत्साह ।
तयारी पनि प्रथम हुने खालकै ।
३३–३४ पृष्ठको हस्तलिखित निबन्ध ।
एक पृष्ठ पढेर दोस्रो पृष्ठको कागज अगाडि पार्न खोज्दै थिएँ । सिलिङ्गमा लागेको फ्यानको हावाले हातमा भएका सम्पूर्ण पानाहरूलाई उडाएर हलको स्पेसमा छरपष्ट बनाइदियो । पृष्ठहरू मिलाएर राखिएको भए पनि स्टिचिङ्ग गर्न भ्याएको थिइन । हलभरि छरपष्टिएका कागजहरू केही कर्मचारीहरूले बटुलेर मलाई सहानुभूति दिइरहेका थिए । मेरो निबन्ध लामो भएर मेरो प्रस्तुतिको समय अन्तिममा राखिएको थियो । सहभागी र सुन्न बोलाइएका पाहुनाहरू हतारिएका थिए । धेरै पृष्ठहरू देखेर उनीहरू पनि अत्तालिएका थिए । त्यसमा पनि अब प्रस्तुतिको समयमै छरपष्टिएका पानाहरूलाई व्यस्थित गर्ने काम थपिएको थियो । म ८ कक्षा पढ्ने बिद्यार्थी, निकै आत्तिएको थिएँ । नर्भस भइसकेको थिएँ । मेनका दिदी छेउमा आउनुभयो र भन्नुभयो, ‘आत्तिनु पर्दैन । निबन्धले पुरस्कार ल्याउँछ । न आत्तिकन पढ्नू ।’

भोटेपुलनिरको परिवार नियोजन कार्यालयको सभा हल ।
धरान ।
साल २०४३ ।
सहभागी ७०–८० जना हुँदो हो ।
परिवार नियोजन कार्यालय सुनसरीले आयोजना गरेको अन्तरमाध्यमिक बिद्यालयहरुबीचको जिल्ला स्तरीय निबन्ध प्रतियोगिता थियो । ‘पाँच अरबको विश्व ः पौने दुई करोडको नेपाल’ शीर्षकमा निबन्ध प्रस्तुत गर्न भनिएको थियो । प्रतिस्पर्धी कतिजना थियो मलाई याद छैन । म आफ्नै गाउँको श्री पकली प्रस्तावित माध्यमिक बिद्यालयको तर्फबाट भाग लिएको थिएँ । छरपष्टिएका पानाहरू समेटेर व्यवस्थित गरिसकेपछि म आफूलाई सम्हालें र पुनः मेरो प्रस्तुति अगाडि बढ्यो । निकै लामो एउटा शोधपत्र जस्तै थियो त्यो निबन्ध । मानिसहरू समय छिप्पिंदै गएकोले हतारिएका देखिन्थे । पढाइको रफ्तार निकै तेज पारें । अलिक ढिलो भएपनि आफ्नो प्रस्तुति पूरा गर्न पाउँदा राहतको श्वास लिएको थिएँ । तीनवटा कुराले मेरो निबन्ध त्यहाँ चर्चाको विषय बन्यो ।
पहिलो कारण, म मुस्लिम बिद्यार्थी थिएँ र मेरो प्रस्तुतिकरण अव्वल दर्जाको थियो । अहिले पनि मुस्लिम भनेपछि अनौठो र केही फरक ढंगले हेर्ने र बुझ्ने प्रचलन छँदैछ, उति बेला यस्तो प्रवृत्ति अझ बढी थियो ।
दोस्रो, निबन्धको आकार निकै लामो थियो । प्रकाशन गरेको भए एउटा पुस्तिका नै तयार थियो ।

तेस्रो, प्रस्तुतिकै दौरान पानाहरु भुईँमा छरपष्टिने घटना हुनु ।

मेरो प्रस्तुतिपछि निबन्ध सुनाउने काममा बिराम लाग्यो । एक घण्टा जतिको ब्रेक्र भयो । निर्णायक मण्डलको भिन्दै
बैठक बस्यो । ब्रेक समयको दौरान ठूलाबडा मानिसहरू मसित भेटेर परिचय गर्न थाले । मेरो निबन्धमा पृथ्वीको उत्पत्ति र मानव सभ्यताको इतिहासमेतलाई प्रष्ट्याइएको थियो । माल्थसको सिद्धान्तको समीक्षा गरिएको थियो । सन्तुलित जनसंख्याको फरक धारमाथि बहस भएको थियो । निश्चित रूपमा त्यो निबन्ध एउटा शोधपत्रजस्तै दस्तावेज थियो । एक हप्ताको समयमा कसरी यति खोजमूलक दस्तावेज निर्माण गर्न यो ८ कक्षा पढ्ने विद्यार्थीले गर्न सक्यो होला भन्ने कुरामा चिया गफ भइरहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरूको केन्द्रबिन्दु बनेको थिएँ म । पकलीमा परिवार नियोजन सम्बन्धी कार्यालयको प्रमुख मेनका दिदीमा पनि उत्साह देखिएको थियो । तर, एक घण्टापछिको नतिजामा मेरो नाम टप थ्रीमा छनौट हुन नसकेको देखियो ।
बिद्यार्थी मन ।
उत्साहित थिएँ ।
एकाएक उदास भएँ ।
निकै नरमाइलो लाग्यो ।
मेनका दी निर्णयप्रति नाखुश देखिइन् ।
निबन्ध तयार गर्न निकै सहयोग गरेका जीया भाइलाई पनि नमज्जा भइरहेको थियो ।
प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई पुरस्कृत गरिसकेपछि उद्घोषकले भूमिका बाँधेर बोलिरहेका थिए, ‘त्यस्तै निर्णायक मण्डलले एकजना प्रतिस्पर्धीलाई सान्त्वना पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । निकै मेहनत गरेर तयार पारिएको स्तरीय निबन्ध र स्तरीय प्रस्तुति भए पनि शब्द सीमा दुई हजारभन्दा निकै नै लामो भएकोले उहाँको निबन्धलाई स्थान दिन सकिएन । यद्यपि मेहनत र क्षमताको कदर गर्दै उहाँलाई सान्त्वना पुरस्कारले पुरस्कृत गर्न चाहन्छौं । उहाँ हुनुहुन्छ कक्षा ८ अध्ययनरत् बिद्यार्थी भाइ मोहम्मद जाकिर हुसैन, श्री पकली प्रस्तावित मावि ।’

gorkhali-news

मेनका दिदी ताली पड्काउँदै मनिर आएर पुरस्कार लिन स्टेजतिर पठाउनुभयो । किशोर मन मस्तिष्कलाई थोरै भए पनि राहत मिल्यो । त्यति बेलाको किशोर मनोविज्ञानलाई अब बल्ल बुझ्न सकिएको छ । स्कुल पढ्दा प्रथम भएर पनि रिजल्टमा अक्सर नाम खाली राखेर प्रकाशित सूचनाहरूले मेरो मन मस्तिष्कमा कति गहिरो चोट गरेको थियो, त्यो आज अनुभूति भइरहेको छ । दस रूपिया परीक्षा शुःल्क तिर्न नसक्दा रिजल्ट रोकिने र दोस्रो, तेस्रो हुने बिद्यार्थीले राजाहरूको जन्म दिवसको दिन पुरस्कार थाप्दा म अवाक् भएर टुलुटुलु हेरिरहन्थें । सबैलाई थाहा हुन्थ्यो प्रथम हुने बिद्यार्थी जाकिर हुसैन हो तर पुरस्कृत हुन स्टेजमा बोलाइन्नथियो । कसैले व्यवस्थापन समिति र प्रधानाध्यापकलाई एक शब्द भन्दैनथे । त्यस बेलाको बालमनोविज्ञानलाई सम्झँदा आज पनि मन क्षतबिक्षत भएर आउँछ, मुटु फुट्न खोज्छ । म त एउटा बिपन्न ‘ढकियावाली‘ को छोरो न थिएँ । तर, त्यही बिद्यार्थीले आठ कक्षा पढ्दा जिल्ला स्तरमा आफ्नो बिद्यालयलाई चिनाएर छाती फुलाएको थियो । अन्ततः म पनि पुरस्कृत भएर धरानबाट फर्किएको थिएँ । त्यस कार्यक्रमले मलाई लेख्न उक्सायो । अब म झन् उत्साहित भएर नियमित रूपमा लेख्न थालें । हुन त म स्कुलमा कक्षा ४ बढ्दादेखि नै कविताहरू लेख्ने र गीत गाउने गरेको थिएँ । बालबालिकाहरूको पनि विभिन्न प्रवृत्ति हुँदो रहेछ । लेखन, गायन, बादविवाद, हाजिरी जवाफ प्रतियोगितहरूमा मेरो निकै रुचि थियो तर खेलकुदमा मैले कहिल्यै पनि रुचि राखिन । यो प्रतियोगिताभन्दा दुई महिनापहिले पकली गाउँ पञ्चायत स्तरमा जनसंख्यासम्बन्धी एउटा निबन्ध वाचन कार्यक्रम मेनका दिदीले नै आयोजना गर्नुभएको थियो । प्रधानपञ्च भरत चौधरीको सभाकक्षमा त्यो निबन्ध बाचन गरेको थिएँ । त्यो निबन्धलाई निकै सहभागीहरुले निकै मन पराएकाले मेरो त्यो निबन्ध परिवार नियोजन कार्यालय सुनसरी, धरानको स्मारिकामा छापियो । निकै खुशी भएँ । त्यसले मलाई थप उर्जा दियो । त्यो नै मेरो प्रथम प्रकाशित लेख थियो । बिराटनगरमा कलेज पढ्दा २०४७ सालमा त्यहाँबाट प्रकाशन हुने गौरव र नमस्कार नामका दुईवटा साप्ताहिक र नमस्ते नामको दैनिक पत्रिकामा रिपोर्टर भएर काम गर्न थालें । त्यही बेला पकली चौकमा मेरो सम्पादनमा युवा आवाज भन्ने हस्तलिखित भित्ते पत्रिका प्रकाशन हुन थाल्यो । यी पत्रिकाहरूमा मेरा लेख–रचना र फुटकर कविताहरू पनि प्रकाशित भए । प्रविणता प्रमाणपत्र तहको दोस्रो वर्षमा पढिरहँदा मेरो सम्पादनमा मधुर सन्देश नामक मासिक पत्रिका प्रकाशन शुरु भयो । यसरी म लेखन, साहित्य र पत्रकारितामा गोलबन्द हुन पुगें । अध्ययन, खोज अनुसन्धान र लेखनमा मेरो रुचि बढ्दै गयो, निरन्तरतालाई जोगाएको छु । यति बेला मैले आफ्नो लेखनको मापन गर्दा मेरा आठ पुस्तक प्रकाशित भइसकेका छन् भने सात–आठ वटा पुस्तकका पाण्डुलिपि तयारी अबस्थामा रहेका छन् । अहिलेसम्म मैले लेखेका पुस्तकहरुमध्ये पाण्डुलिपिको अबस्थामा रहेको ‘नेपालमा इस्लामी सभ्यताको विकास’ भन्ने पुस्तक सवभन्दा महत्वपूर्ण र पृष्ठको हिसाबले पनि ठूलो (झण्डै आठ सय पृष्ठको) रहेको छ । मेरा तीन सयभन्दा बढी फुटकर लेख, रचनाहरु प्रकाशित भएका छन् । मैले कविता, गीत, गजल, मुक्तक, हाइक्, कथा, निबन्ध र समालोचना लेख्ने गरेको छु । उपन्यासमा पनि कलम चलेको अबस्था छ । पछिल्लो समयमा दोहोर्याएर फेरि सक्रिय राजनीतिमा लागेपछि साहित्यभन्दा समसामयिक विषयमा नै कलम चलेको छ । (लेखक पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।)

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news