पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। >
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको हो। >
तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरूद्ध मुद्दा दायर भएको हो। >
पोखरा महानगर-१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। >
उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको हो।>
अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।>
>
तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए। >
त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ। >
उनीहरूले अस्थायी बसोबासका लागि दिलबहादुर गुरूङलाई प्रमाणपत्र दिएका थिए। >
अहिले उक्त जग्गामा स्थायी संरचना निर्माण गरी निजी प्रयोगमा लगाएको देखिएको अख्तियारले जनाएको छ। >
यसरी उनीहरूले जग्गा हडपेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको पुष्टि हुने अख्तियारले दाबी गरेको छ। >
अख्तियारले उनीहरूलाई कैद सजाय, बिगोबमोजिमको जरिवाना र दुरूपयोग गरेको सम्पत्ति समेत असुल गर्न मागदाबी लिएको छ।
>
>>