अर्यालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे जयराम यादव

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

मोरङ क्षेत्र नम्बर ५(ख) का जसपा उम्मेदवार जयराम यादव आफ्ना प्रतिस्पर्धि अमृत अर्यालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

चुनावी अभियानका क्रममा अचानक बिरामी परेपछि सोमबार बिहान अर्याललाई विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।

प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले अस्पताल पुगेर अर्याललाई स्वास्थ्य लाभको कामना गरेका छन् । अस्पताल पुगेको तस्बीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘शिघ्र स्वास्थ्य लाभको कामना अमृत अर्याल ज्युलाई ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्याल सत्ता गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार हुन् । यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् ।

‘मानवताको नाताले सबभन्दा ठुलो धर्म भनेको मानवीयता हो । अमृत अर्याल दाई र म अहिले एउटै प्रदेशसभा निर्वाचन क्षेत्र मोरङ ५ को (ख) बाट प्रतिस्पर्धामा छौँ,’ उनले भने, ‘उहाँ अस्वस्थ भएकाले म आफू चुनावी अभियानका क्रममा विराटनगरबाट ८र१० किलोमिटर टाँढाबाटै उहाँको स्वास्थ्य लाभको कामना गर्नका लागि विराट नर्सिङ होम गए ।’

आफू प्रदेश १ सरकारको वर्तमान स्वास्थ्यमन्त्री भएका कारण पनि अर्याललाई भेट्न जानु नैतिक जिम्मेवारी भएको उनले बताए ।

अर्यालसँग भेट गरेर आफू निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियानमा लागेको उनले जानकारी दिए ।


प्रतिक्रिया