संखुवासभाको अल्लो, इलामको चिया अनि कृषिका आधुनिक उपकरण

Aadil Times 1+ समाचार ( )
एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहने...
२१ मंगशिर २०७९

विराट एक्स्पोमा कृषिका आधुनिक उपकरणहरु राखिने भएको छ । आधुनिक उपकरण प्रयोग गरी परम्परागत रुपमा गरिने खेतीभन्दा बढी उत्पादन लिन सकिने भएकाले यसलाई प्राथमिकता दिइने भएको हो ।

एक्स्पोमा उपकरण र प्रदेश १ का कृषिजन्य उत्पादनहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि एक्स्पो आयोजना हुँदैछ ।

कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषिसम्बन्धी आधुनिक प्रविधि र उपकरणहरू पनि प्रदर्शनीमा राखिने आयोजक समितिले जनाएको छ । प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोमा आउने कृषकहरूलाई कृषिका आधुनिक प्रविधिको बारेमा जानकारी दिइने बताए ।

उनले विश्वमा आधुनिक प्रविधिहरू भित्रिएको तर, नेपाली कृषकहरूले यस्ता प्रविधि र उपकरणबारे जानकारी नपाइरहेका कारण एक्पोमा कृषकहरूलाई नै लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताए ।

एक्स्पोमा प्रदेश सरकार कृषि मन्त्रालयले पनि २० वटा स्टल राख्ने जनाएको छ । मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले कृषिका आधुनिक उपकरण, नयाँ प्रविधिका विषयमा किसानलाई जानकारी गराउने गरी स्टलहरूको व्यवस्थापन गरिएको बताइन् ।

उनले एक्स्पोमा आउने किसानहरूले कृषि क्षेत्रमा उदाहरणीय काम गरेका किसान तथा उद्यामीहरूसँग छलफल गरी थप ज्ञान र सिप हासिल गर्न सक्ने स्पष्ट पारिन् । एक्स्पोमा कृषि, औजार, कृषि प्रविधि, कृषि जन्य उत्पादनका भिन्ना भिन्नै किसिमका स्टलहरू राखिएको पोखरेलले बताइन् ।

एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहने छ । यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघको कृषि प्रविधि प्रदर्शनसहितको सहभागिता रहने छ । एक्स्पोमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी, इलामको ललिपप, चियालगायतका कृषिजन्य वस्तुहरूका स्टल राखिने छन् ।


प्रतिक्रिया