विभिन्न व्यक्तिले आफ्नो उम्मेदवारी निस्कृय पार्दै शेखर कोइरालालाई समर्थन गर्दै

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

विराटनगर । राजनीतिक दलबाट उम्मेदवारी दिएका तथा स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरु डा.शेखर कोइरालाको पक्षमा खुल्न थालेका छन् ।

डा.शेखर आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनी लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार हुन् । एमाले–जसपा गठबन्धनबाट एमालेका लालबाबु पण्डित उनका प्रतिस्पर्धी छन् ।

दलका तर्फबाट तथा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका विभिन्न व्यक्तिले आफ्नो उम्मेदवारी निस्कृय पार्दै डा.शेखरलाई समर्थन गरेका हुन् । केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर उनलाई सघाउने घोषणा गरेका थिए ।

नारायण यतिबेला डा.शेखरको चुनावी प्रचार अभियानमा सक्रियताका साथ लागेका छन् । उनीसहित बहुजन शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्तासमेत शेखरको चुनावी प्रचारमा खटिएका छन् ।

युवाहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले पनि आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् । कोइराला निवासमा मंगलबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा सुशीलले डा.शेखरलाई सघाउने घोषणा गरेका हुन् ।

स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए । युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोसी लोकमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पुर्याउने सहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. शेखरलाई समर्थन गरेको सुशीलले जानकारी दिए ।

आफूले उठाएका एजेण्डाप्रति शेखर गम्भीर भएकाले आफ्नो उम्मेदवारी निस्कृय बनाएको उनको भनाइ थियो । ‘राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने र युवाका मुद्दालाई संसदमा सशक्त रुपमा उठाउन सक्ने महसुस गरेर डा. शेखरलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी आजकै मितिबाट निस्कृय बनाएको सबैलाई जानकारी गराउँदछु,’ सुशीलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँलाई जिताउन हामी सबै युवा आजैदेखि लागिपर्ने छौँ ।

सुशीलले नेतृत्व गरेको समूहमा १५० भन्दा बढी युवाहरूको प्रत्यक्ष आबद्धता रहेको छ ।

प्रतिक्रिया