चर्को ब्याजदरको विरोधमा सडकमा उद्योगी व्यवसायी

Aadil Times 1+ समाचार ( )
७ पौष २०७९

बैंकहरुले लिने गरेको चर्को ब्याजदरको विरोध गर्दै विराटनगरका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । उनीहरुले बिहीबारदेखि विरोधका कार्यक्रम सुरु गर्दैछन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी संस्थाको सहभागितामा आन्दोलन गरिने भएको हो ।

सरकार र नेपाल राष्ट्र बैंकले औद्योगिक र व्यापारिक क्षेत्रको प्रतिकूल हुने गरी चर्को ब्याजदर लिइरहेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले चर्को ब्याजदर र सरकारको नीतिविरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका थिए ।

उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी एक दिन बजार बन्द गर्ने लगायतका कार्यक्रम पनि उनीहरुले घोषणा गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग पनि उद्योगीले अघि सारेका छन् ।

उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राज्यले उद्योगी व्यवसायीहरूको मागलाई बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

प्रतिक्रिया