आज साँझ चन्द्रग्रहण, नेपालबाट १ घण्टा २३ मिनेट देखिने

Aadil Times 1+ समाचार ( )
२२ कार्तिक २०७९

विराटनगर । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ ।

बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।

बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।


यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।


प्रतिक्रिया