कोरोना सङ्क्रमित बढेपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

Aadil Times 1+ समाचार ( )
२९ चैत्र २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए ।

“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उनले भने, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।”

अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए ।

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार