प्रेम र अहिंसाका अनुयायी थिए फाल्गुनन्द

Aadil Times 1+ समाचार ( )
आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोध...
२५ कार्तिक २०७९

विराटनगर । आज शुक्रबार फाल्गुनन्द जयन्ती महागुरु फाल्गुनन्दको सम्मानमा विभिन्न स्थानमा विशेष कार्यक्रम गरिँदैछ । प्रदेश १ सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ ।

१९४२ सालमा इलाममा जन्मिएका गुरु फाल्गुनन्दसँग अद्भूत तथा चामत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्न उनको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।

पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ ।

त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेषगरि किराँत समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ ।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको सम्मानस्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ ।

झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्णकदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ ।

प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रुपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्वीर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रुपमा लिने गरेका छन् ।

फाल्गुनन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरुले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

समाज सुधारका रुपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो । उनलाई अति प्रतिष्ठित गुरु, सत्यवक्ता र साधुका रुपमा पनि लिने गरिएको छ ।

उनले दिएका दिव्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रमहरु पनि गरिन्छ ।

गुरु फाल्गुनन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो ।

‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा संगठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।

गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरु उदाहरणीय भएको पनि मानिन्छ ।फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्एिका फाल्गुनन्दको न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो ।

बाल्यकालमा सिकिस्त बिरामी भएपछि उनलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर नाम फाल्गुनन्द रहेको हो ।

फाल्गुनन्द जयन्तीका अवसरमा शुक्रबार बिहान धरानमा आयोजित कार्यक्रमका सहभागी । आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राखेका थिए । उनले नारीजाति सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूलदेवतालाई सदा बिहान र बेलुका पूजा आराधना गर्नु पर्ने, माछामासु, मदिरा सेवन गर्न नहुने धारणा राखेका थिए ।

सेनामा रहँदा पनि साँझ विहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उनकै साथीहरुले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए ।लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया