एक महिनादेखि बेपत्ता बालिका मृत भेटिइन्

Aadil Times 1+ समाचार ( )
२० फाल्गुन २०७९

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी छ वर्षीया बालिका मृत फेला परेकी छिन् ।

स्थानीय गणेश लिम्बूकी छोरी सोनिया लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोनिया गत माघ २५ देखि बेपत्ता थिइन् । घरदेखि करिब आधा घण्टाको पैदल दूरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

उनका अनुसार सुंगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर भएको थियो । बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ । शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो ।

घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दूरीमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया