प्रदेश १ को नामाकरण ‘कोशी’ राखिएकोप्रति जसपाको विरोध

Aadil Times 1+ समाचार ( )
२० फाल्गुन २०७९

जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोशी प्रदेश नामाकरणको विरोध गरेका हुन् ।

कोशी प्रदेश हुनुपर्छ भनेर कहि कतै आन्दोलन भएन । कहि कतैबाट नमागेको नाम जबर्जस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ रु प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा, नेपालले राख्दै आएको छ ।

ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानीपूर्ण संघर्षका लागि होमिन बाध्य हुने छौँ, बुधबार अध्यक्ष याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी ‘षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दिर्घकालिन विजारोपण गरेको उल्लेख गरिएको छ ।

सबै सरोकारवालाहरुसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तथा घोषित कार्यक्रमहरुप्रति समर्थन रहने’ विज्ञप्तिमा उल्लेख छ ।

साथै जसपा, नेपालको सांसदलाई मत दिन बञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।

प्रतिक्रिया