सर्लाहीमा नक्कली नोट सहित एकजना पक्राउ

Aadil Times 1+ समाचार ( )
२४ चैत्र २०७९

आर्थिक वर्ष २०७९/८० एक आर्थिक बर्षको अन्तरालमा मात्र नक्कली नेपाली रूपैया सहित १ दर्जन भन्दा बढि ब्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् । खास गरेर हजार दरका नक्कली रूपैयाँ सहित उनीहरू पक्राउ परेको हुन् ।

शुक्रबार पनि सर्लाहीको बरहथवा नगरपालिका वाड नं, १७ कटानीबाट प्रहरीले १ हजार दरका २ लाख ६८ हजार नक्कली नोट सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विशेष सुचनाको आधारमा छापा मारि जिल्ला प्रहरीले नक्कली नोटसहित नोट बनाउने कागजात समेत बरामद गरेको हो ।

नक्कली नोट कारोवारमा आवद्व केही व्यक्ति फरार रहेको छ, नक्कली नोट कारोवारमा पक्राउ परेका ब्यक्तिको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागज सहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकल समेत बरामद गरेका छन ।

सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनाको अन्तरालमा नक्कली नोट सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन ।

३ महिनाको अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँ सहित ९ जनालाई नियन्त्रणमा लिई काराबाही गरेको थियो ।

जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना एक-एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

३ महिनाको अवधिमा ३ लाख ३६ हजार नक्कली रुपैयाँ सहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन समेत बरामद भएको छ ।

सर्लाहीका एसपी नरेश राज सुवेदीका अनुसार नक्कली रुपैयाँको कारोबार सर्लाहीमा बढेको बताए ।


प्रतिक्रिया