समृद्धि र सुशासनका लागि गठबन्धनले जित्नुपर्छःप्रचण्ड

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गरे । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् भनेर गठबन्धनलाई जिताउनुपर्नेमा उनको जोड छ ।

‘देशभर सत्तारुढ गठबन्धनको पक्षमा लहर आएको छ । यो गठबन्धन दशकौं पछिसम्म जान्छ,’ उनले भने, ‘त्यही भएकाले गठबन्धनलाई जिताउनुपर्छ । गठबन्धनबाटै मुलुकको विकास र समृद्धि सम्भव छ ।’ एमालेबाट मुलुकको विकास सम्भव नहुने र एमालेले मुलुकका लागि केही पनि गर्न नसक्ने उनको दाबी छ ।

उनले शान्ति सम्झौताकै दिन स्वः गिरिजाप्रसाद कोइराला र आफूले एकअर्कालाई प्रतीकात्मक रूपमा भोट हालेको जिकिरसमेत गरे । शान्ति सम्झौताको हस्ताक्षरकर्ताका रूपमा एकअर्कालाई प्रतीकात्मक मतदान गरेको प्रचण्डको कथन छ ।

उनले निर्वाचनबाट सत्तारुढ गठबन्धन विजयी बनेपछि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने, बूढी र गछिया खोलामा तटबन्ध बनाउने तथा सुकुम्बासी समस्या समाधान गर्ने बताए । उनले शान्ति सम्झौतामा डा.शेखर कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । शान्ति सम्झौता अघि कोइरालाले आफू र गिरिजाप्रसाद बीच छलफल गराउन पुलको भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै उनले शेखर नभएको भए शान्ति सम्झौता हुने नहुने विषयमा आफूले बेला–बेला सोच्ने गरेको बताए । प्रचण्डले शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनभित्र एकअर्कालाई मतदान गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया