लामिछानेलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

Aadil Times 1+ समाचार ( )
२८ मंगशिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।

उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली पासपोर्टसमेत लिएको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो ।


प्रतिक्रिया