राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

Aadil Times 1+ समाचार ( )
५ वैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो ।

उपचारका लागि भारत प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेललाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने उनका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए ।

स्वास्थ्यमा पुन : समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको डा. बमले बताए ।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यबारे एम्स अस्पताल र शिक्षण अस्पतालका चिकित्सकबीच कुराकानी भएको र थप परीक्षण तथा उपचारका लागि त्यहाँ लैजाने निर्णयमा पुगिएको हो ।

राष्ट्रपति पौडेलको चाहना नेपालमै उपचार गर्ने रहे पनि चिकित्सकको सुझावमा भारत पठाइएको डा. बमले जानकारी दिए ।

एम्स र शिक्षण अस्पतालका चिकित्सकबीच राष्ट्रपति पौडेलको स्वास्थ्यबारे कुराकानी भइरहेको थियो । ग्यास्ट्रिककै समस्या बल्झिएकाले थप परीक्षण र फलोअपका लागि एम्स अस्पताल लैजाने निर्णय भएको हो, उनले भने ।

यसअघि राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका थिए । चिकित्सकले पेटको तल्लो भागमा जमेको पानी परीक्षणका लागि निकालेका थिए ।

अस्पताल भर्ना भएपछि मंगलबार छातीको एमआरआई र सीटी स्क्यान पनि गरिएको थियो । ती सबैमा संक्रमणबाहेक थप समस्या भने नदेखिएको राष्ट्रपति पौडेलका निजी चिकित्सक डा। बमले बताए ।

यसअघि राष्ट्रपति पौडेलको ग्यास्ट्रिकको समस्या बल्झिएपछि गत १८ चैत राति त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएसँगै राष्ट्रपति पौडेल चैत २१ राति अस्पतालबाट डिस्चार्ज भएका थिए ।


प्रतिक्रिया