नेपाली कांग्रेसका सदस्य गगन थापा:अबको सरकार पुरानो शैलीबाट चल्न सक्दैन

Aadil Times 1+ समाचार ( )
२० मंगशिर २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं संविधानसभाका नवनिर्वाचित सदस्य गगन थापाले आगामी सरकार गठबन्धनकै बन्ने भए पनि अब पुरानै शैलीबाट चल्न नसक्ने बताएका छन् ।

‘निजी कम्पनी चलाएजस्तो गरी, कागजमा तमसुक गरेर गठबन्धनको सरकार चल्दैन’ विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘गठबन्धनको सरकार केका लागि हो भन्ने प्रष्ट पार्दै त्यसका लागि निश्चित खाका बनाएर मात्र अघि बढ्नुपर्छ ।’

कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ शीर्षकको पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकार चलाउन स्पष्टता, प्रतिबद्धता र असली चरित्र हुनुपर्ने भन्दै थापाले पटक–पटक त्यही कामका लागि, त्यही व्यक्तिले पुरानै परिणाम आएजस्तो ठानेर सरकार सञ्चालन गर्न नहुने धारणा राखे ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय (समानुपातिक) मत घटेको चर्चा चलेको बताउँदै उनले कांग्रेसले अब बन्ने सरकारलाई प्रभावकारी बनाउन सकेको खण्डमा आगामी निर्वाचनमा त्यो लोकप्रिय मत फिर्ता ल्याउन सकिने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया