सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी : नेकपा (एमाले)

Aadil Times 1+ समाचार ( )
१२ जेठ २०८०

नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । जेठ १० गतेको संसद्मा दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएको आरोप लगाएको भन्दै एमालेले संसद्मा विरोध गरिरहेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रोष्टमबाट दिइएको बताए । भने, “कुनै हालतमा सदन रोकिनुहुँदैन भन्नेमा प्रष्ट छौँ । सत्तापक्षबाट जिम्मेवार सांसदले जे कुुरा राख्नुभयो, त्यो गैरजिम्मेवार छ ।” उनले पशुपतिमा सुनको जलहरी लगाउनुपर्नेमा पित्तलको जलहरी लगाउँदा दलको नेताले भ्रष्टाचार गरेको आरोप लगाएको अडियो आफूले घरिघरि सुनेको बताए । “प्रमुख प्रतिपक्षीमाथि आरोप लगाएर भन्नुभयो । मलाई विश्वास लागेन । मैले घरीघरी सुनेँ । तीनपटक सुनेँ,” उनले भने ।

उनले प्रमुख प्रतिपक्षी भएकाले वेटिङ गभर्मेन्टको नेतामाथि आरोप लगाइएको बताए । यस्तो आरोप सत्तापक्षले लगाएको भन्दै आरोप टाउकोमा बोकेर प्रक्रियामा कसरी भाग लिन सक्छौँ भन्दै प्रश्न गरे । “दूधको दूध, पानीको पानी होस् । यो कुरालाई टुंगोमा पुर्याउँ,” उनले भने ।

प्रतिक्रिया