शेखर कोइरालाको चुनावी प्रतिस्पर्धाः३ वटामा जीत, २ वटामा पराजय

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको कोइराला परिवारका सदस्य हुन् ।

विशेषज्ञ चिकित्सक उनी सक्रिय राजनीतिमा आउनुअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवद्ध थिए । त्यहाँ १० वर्ष काम गरेका शेखर २०६१ सालपछि राजनीतिमा छाइरहेका छन् । बीपीको संस्थापक रेक्टरका रूपमा उनले २०५० साल साउन १० गतेबाट काम सुरु गरेका थिए । २०५५ मा बीपीकै उपकुलपति बने ।

बीपी छाडेर राजनीतिमा आएका शेखरले हालसम्म ५ वटा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् । १५ वर्षदेखि चुनाव लडिरहेका उनले ३ वटामा जीत निकाले भने २ वटामा पराजय बेहोरे । यही मंसिर ४ गतेको निर्वाचनबाट विजयी बनेर प्रतिनिधिसभा सदस्य बने ।

मुलुकलाई ३ वटा प्रधानमन्त्री दिएको कोइराला परिवारबाट विरासतको राजनीति गर्ने नेतामध्ये डा.शेखर अग्रणी मानिन्छन् । कोइराला परिवारको विरासत थाम्ने नेताका रूपमा हेरिएका उनका लागि पहिलो चुनावी प्रतिस्पर्धा बिर्सनलायक रहयो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसँग पराजित भएका थिए । चुनावको पहिलो प्रतिस्पर्धामै हार बेहोर्दा कोइराला परिवारको विरासतमा धक्का लाग्नसक्ने अनुमान पनि गरियो ।

तर २०६५ सालमा भएको उपनिर्वाचनमा फोरम लोकतान्त्रिककै चुमनारायण तब्दारलाई पराजित गरेर संविधासनसभा सदस्य बने । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि विजय गच्छदारलाई हराउँदै शेखर विजयी भए ।

जननिर्वाचित संविधानसभाबाट मुलुकले संविधान पाइसकेपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनको परिणाम पनि उनका लागि निराशाजनक रहयो । तर उनले त्यो निराशालाई ठीक ५ वर्षपछि उत्साहमा परिणत गरिछाडेका छन् । अर्थात मंसिर ४ मा सम्पन्न निर्वाचनको नतिजा शेखरको पक्षमा परेको छ ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई भारी मतान्तरले पराजित गर्दै कांग्रेस नेता शेखर सांसद चुनिए । उनले ३५ हजार २१३ मत ल्याउँदा लालबाबु २२ हजार ९२९ मतमा सीमित बने । शेखर र लालबाबुबीचको मतान्तर १२ हजार २८४ छ ।

उनै लालबाबुसँग ५ वर्षअघि बेहोरको पराजयको बदला लिँदै यसपटक शेखरले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । २०७४ सालको निर्वाचनमा लालबाबुसँग ६७५ मत अन्तरले पराजित हुँदा उनका लागि प्रतिनिधिसभाको ढोका बन्द भएको थियो । त्यतिबेला लालबाबुले ३३ हजार ९४१ मत ल्याउँदा शेखरले ३३ हजार २६६ मत मात्रै प्राप्त गरेका थिए ।

पहिलो संविधानसभा निर्वाचन (२०६४) मा हारेका शेखर त्यसकै उपनिर्वाचन (२०६५) र दोस्रो संविधानसभा निर्वाचन (२०७०)मा भने अहिलेकै क्षेत्रबाट विजयी बनेका थिए । तर २०७४ सालमा भने पराजित भए । यसपटकको निर्वाचन परिणाम भने उनका लागि सुखद् रहयो । उही निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धीमाथि शेखर हाबी भए । ५ वर्षअघि गुमेको कांग्रेस किल्ला फिर्ता ल्याएरै छाडे ।

शेखरलाई प्रतिनिधिसभा सदस्य हुन तगारो बनेका लालबाबु दोस्रोपटक जित्ने आशासहित चुनावी मैदानमा आएका थिए । मैदानमा शेखरसँगको दोस्रो भेट उनका लागि फापेन । फेरिएको राजनीतिक परिवेशमा प्रतिस्पर्धी बनेर प्रतिनिधिसभा सदस्य हुने दौडमा लालबाबु हारे । लालबाबु २०४८ र २०५६ को आमनिर्वाचनमा मोरङको तत्कालीन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए ।

विगतदेखिको पार्टीभित्रको आन्तरिक द्वन्द्व र असन्तुष्टिको सम्बोधन, सत्तारुढ गठबन्धन, उक्त क्षेत्रमा सांगठनिक हिसाबले एमालेको कमजोर उपस्थिति तथा कांग्रेसको पकडक्षेत्र यसपटक शेखरका लागि चुनाव जित्ने मुख्य आधार बने । पार्टीभित्रको द्वन्द्व, एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धन, राष्ट्रियस्तरमा लालबाबुको चुलिएको लोकप्रियतालगायतका कारण अघिल्लो चुनाव हारेका थिए ।

त्यतिबेला एमालेलाई साथ दिएको माओवादी र एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन बन्दा शेखरलाई सहज भयो । ५ वर्षअघि पराजित हुँदा समग्र राष्ट्रिय राजनीतिमा नै शेखरको भूमिका खुम्चिएको थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनपछि भने पार्टीभित्र संस्थापनइतर समूहको प्रभावशाली नेताका रूपमा उदाउँदा शेखरको भूमिका अलि फराकिलो बनेको छ । महाधिवेशनमा पार्टी सभापतिमा उनले ४० प्रतिशत मत प्राप्त गरेका थिए ।

शेखरले २०२७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेविसंघमा आवद्ध भएर राजनीति सुरु गरेका हुन् । पार्टीको सदस्यता २०२८ सालमा प्राप्त गरे ।

कांग्रेसको राजनीतिमा सक्रिय उनी पार्टीको ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्य रहे । १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्दा शेरबहादुर देउवासँग पराजित भए । पार्टीभित्र अहिले संस्थापनइतर समूहको नेतृत्व शेखरले गरिरहेका छन् ।

कांग्रेसमा स्थापित नेतृ नोना कोइरालाका छोरा उनी विराटनगर महानगरपालिका–७ निवासी हुन् । ७२ वर्षीय शेखरले अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका छन् । उनलाई तत्कालीन विद्रोही माओवादीसँग भएको १२ बुँदे विस्तृत शान्ति सम्झौताका सूत्रधार मानिन्छ ।

तत्कालीन प्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाका सहयोगीको भूमिका निर्वाह गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेका शेखरले अन्तरिम संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गरेका थिए । कांग्रेसको ‘ह्वीप’ नमानिकन संविधान निर्माणमा राज्यको हरेक निकायमा मधेसी, मुस्लिम, महिला, दलित र आदिवासी जनजातिको समावेशीताको व्यवस्था राख्न संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराएका उनले राज्यबाट ‘संविधानसभा सदस्य पद’ प्राप्त गरेका छन् ।

जितपछि शेखरले परम्परागत राजनीतिक दलसँग भन्दा पनि आमजनतामा व्यक्तिप्रति वितृष्णा बढेको बताए । अहिलेको चुनावी परिणामलाई जनताको वितृष्णा पोखिएको रूपमा लिनुपर्ने उनले बताए । ‘दलसँग वितृष्णा भयो भने दलीय ‘सिष्टम’ नै रहँदैन,’ उनले भने, ‘सुशासन दिन नसक्दा तथा भ्रष्टाचार नियन्त्रण र दण्डहीनताको अन्त्य गर्न नसक्नु वितृष्णाको प्रमुख कारण हो ।’

सुशासनलाई आफ्नो प्रमुख मुद्दा बनाउने शेखरले बताए । बिना सुशासन देश अघि नबढ्ने उनले बताए । ‘मुलुकले परिवर्तन खोजेको छ । परिवर्तन युवाहरुबाट मात्रै सम्भव छैन,’ शेखरले भने ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा सुन्दरहरैँचा नगरपालिकाको वडा २, ३, ४, ५, ६ र ७, बूढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४, ५, ६, ७, ८, ९, ११ र १२ नम्बर वडा समेटिएको छ । निर्वाचनमा ८५ हजार ३७१ मत खसेको थियो । खसेकोमध्ये ८० हजार ४१७ मत सदर भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार