सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन ।
>
त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो। ८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ । विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।
>
उहाँका अनुसार ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ। यहाँ एसइईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ ।
>
विद्यालयमा ताला लागे पछि पढाई प्रभावित भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेका थियौँ तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताए । विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।
>
यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ। >>