कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

Aadil Times 37+ समाचार ( )
२३ जेठ २०८०

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दल र  माओवादी  केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को   बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाइएको छ ।’

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो  ।

पार्टीको निर्णयपछि संसदीय दलको  बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए  । ‘आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउछौं,’ उनले भने, ‘त्यसका लागि दलको बैठक बस्दैछ ।’


प्रतिक्रिया