सबैसँग बिदा मागेर सधैँका लागि बिदा भए निराकर

Aadil Times 1+ समाचार ( )
१५ पौष २०७९

 थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको होटलमा बुधबार राति भएको आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाएका छन्। आफू बसेको होटलको पहिलो तलाबाट नेपाली समयअनुसार राति ११ः३० बजेबाट आगलागी सुरु भएको थियो।

आगलागीपछि १२औँ तलामा रहेका निराकारले राति १ बजे बिर्तामोडमा रहेका बुबालाई भिडियो कल गरेका थिए । बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष समेत रहृका अग्नि पाण्डेले छोरा विदेशमा यसरी अप्ठ्यारोमा परेको खबर भिडियो कलबाट सुनेपछि केही बोल्नै नसकेको बताए।

बुबासँगको कुराकानीपछि उनले साइँली बुहारी सङ्गीता पाण्डेलाई भिडियो कल गरे। “सायद म मर्छु होला। आगो घरभित्र पसिसक्यो हामफाल्न आँट आउन सकेको छैन। बुबाआमाको राम्रो हेरचाह गर्नू भन्दै हुनुहुन्थ्यो,” बुहारी सङ्गीताले बताईन् ।

भिडियो कल हेर्दा कोठाभरि धुँवा फैलिसकेको थियो। त्यस बेला नेपाली समयअनुसार बिहानको २ बजेको थियो। उनले भने, “फोन काटिएपछि घरमा भएका सबैजना एकै ठाउँमा जम्मा भएर रातभर रौयौँ। त्यसैगरी बिहान भयो।

पाण्डेका चार जना दाजुभाइमध्ये माइला निराकार १६ वर्षदेखि घरबाहिर रहने गरेको भाइ निश्चल पाण्डेले बताए। भारत गोहामा व्यवसाय गर्दै आएका निराकर कोरोना महामारीका बेलादेखि भने नेपालमा सडक निर्माण ठेक्कापट्टाको काम गर्दै आएका थिए।

मृत्यु हुनुअघि निराकारले आफ्ना १० वर्षीय छोरा आर्मनलाई भिडियो कलबाट भनेका भिडियो क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। 

२२ दिनअघि व्यावसायिक साथीहरूसँग थाइल्यान्ड जान्छु भनेर उडेका निराकार थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको क्यासिनोसहितको होटलमा पुगेका थिए । त्यस होटलमा आगलागी भएपछि १२औँ तलाबाट खसेर निराकारको मृत्यु भएको निश्चलको भनाइ छ।




प्रतिक्रिया